मेचीनगर, १३ कात्तिक । आफ्नै पत्नीको हत्या गरी फरार रहेका धाइजनका ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारमा पक्राउ परेका छन् ।
कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका भोजपुर स्थायी ठेगाना भई मेचीनगर–११ स्थित धाइजनमा डेरा गरी बस्ने राईलाई ३ वर्षपछि कतारबाट पक्राउ गरी आज नेपाल ल्याइएको छ ।
पत्नीलाई हत्या गरी फरार रहेकोमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा राईलाई खोजतलास गर्ने क्रममा कतार बस्दै आएको खुल्न आएको प्रहरीको भनाई छ ।
प्रतिवादी राईको नाममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट गत जेठ ३२ गते रेड कर्नर नोटिस जारी भएको थियो ।
एनसीबी दोहा कतारको सहयोगमा पक्राउ गरी उनलाई मंगलबार नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले पक्राउ परेका राईका विषयमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको जानकारी दिए ।
राईले २०७८ मंसिर ३ गते ४५ वर्षीया पत्नी शर्मिला तामाङ राईलाई हत्या गरेर फरार रहेको प्रहरीको भनाई छ ।
Discussion about this post