झापा, २४ कात्तिक । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा झापा कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा तुलाराम वस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेको आज बसेको सचिवालय बैठकले उपनिर्वाचनका लागि झापासहित सबै क्षेत्रको सिफारिस भई आएको उम्मेदवारहरुको नाम पनि अनुमोदन गरेको हो ।
कनकाई नगरपालिका–६ का वडाध्यक्ष दिर्घबहादुर थापाको २०८१ असार २ गते निधन भएको थियो ।
वडाध्यक्ष थापाको पित्तथैलीमा क्यान्सरका कारण मृत्यु भएको थियो । उनी गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिका–६ बाट निर्वाचित वडाध्यक्ष हुन् ।
रिक्त रहेको उक्त पदमा एमालेबाट तुलाराम वस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
उम्मेदवार टुंगो लागेसँगै सत्तारुढ दलको नेकपा एमालेको सिंगो पार्टी उपनिर्वाचनमा केन्द्रित भएको छ । मंसिर १६ गते स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुँदैछ ।
Discussion about this post