मेचीनगर, २८ कात्तिक । भारतबाट अबैध बाटो हुँदै नेपाल प्रबेश गर्दै गरेका २ जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरीले सीमा नाकाबाट पक्राउ गरेको छ ।
आज दिउँसो मेचीनगर नगरपालिका–७ को गैरीगाउँ र भारत दार्जिलिङको रानिगंज पञ्चायत पानीट्याङ्की सीमा स्थित सहायक सीमा स्तम्भ ९०÷३ नम्बर नजिकैबाट नेपाल प्रवेश गरिरहेका २ जना बंगलादेशी नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बंगलादेश घर बताउने अन्दाजी बर्ष २२ का अब्दुल रहमान र बर्ष २५ का रियाद हुसेन रहेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाका सशस्त्र प्रहरी हबल्दार सत्य नारायण राजवंशीको कमाण्डमा खटिएको सीमा पिकेट टोलीले बुधबार उनीहरुलाई शंका लागि सोधपुछ र चेकजाँच गर्दा भारतबाट अबैध बाटो हुँदै नेपाल प्रबेश गर्दै गरेका बंगलादेशी नागरिक रहेको पुष्टि भएको थियो ।
उनीहरुको साथबाट बंगलादेशी टाका १५०० र २ थान मोबाईल फेला परेको, कुनैपनी परिचय पत्र र नेपाल प्रबेश गर्ने अनुमति नभएको पाइएको प्रहरीको भनाई छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेटक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक महेशराज बिष्टले पक्राउ परेका उनीहरुलाई अध्यागमन कार्यालय काँकरभिट्टा बुझाइएको बताए ।
Discussion about this post