झापा, ३ मंसिर । पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको हो ।
यस्तै आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्थित शवगृहमा राखिएको छ ।
ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज विहान ११ बजेदेखि ज्ञानेश्वर स्थित सानो गौचरणमा राखिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने छ ।




Discussion about this post