मेचीनगर, २८ मंसिर । मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ ।
नगरको वडा वडामा नै बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मीसहितको टोली लगेर नगरपालिकाले उनीहरूको स्वास्थ्य परिक्षण गर्ने भएको हो ।
पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने कार्यक्रम रहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।
प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित पन्ध्र दिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४, ५ हुँदै क्रमशः १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने जनाइएको छ ।
मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसलाई हेर्ने दृष्टिकोण समाजमा अझै पनि गलत रहेको बताएका छन् । उनका अनुसार समाजमा त्यस्ता गलत प्रबृत्ति अन्त्य गर्न आवश्यक रहेको छ ।
उपमेयर मीना पोखरेल उप्रेतीले अपांगता भएका मानिसहरुको क्षेत्रमा कार्य गर्न नगरपालिकाले महत्वपूर्ण कार्यक्रमहरु अगाडी सारिसकेको जानकारी दिइन् ।
मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी मेचीनगरमा अपांगता भएको मानिसहरुलाइ नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण र जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ ।
लक्षित वर्गमा नव विवाहित दम्पती, नवजात शिशु, १० वर्ष मुनीका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिकहरु र उनीहरुका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र समूह लाभान्वित हुने छन् ।
त्यस्तै स्वास्थ्य संस्था, शैक्षिक संस्था र समुदायका अन्य समूह र व्यक्तिहरु पनि लाभान्वित हुने उपमेयर उप्रेतीको दावी छ ।
मेचीनगर क्षेत्रमा ३ हजार २७ जना अपाङ्गता भएका मानिसहरु रहेकोमा हाल १ हजार ७४४ जनाको मात्रै नयाँ दर्ता कायम रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले प्रत्येक वडामा एक÷एक दिन चल्ने शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध हुने बताए ।
उक्त कार्यक्रम सफल पार्न आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरुको सेवाहरु रहनेछन् ।
नगरपालिकाले अपाङ्गता भएकाहरुको बिशेष स्वास्थ्य परिक्षण, पहिचान र परिचय पत्र बितरण कार्यक्रमलाई सबै वडामा प्रभावकारी बनाउनका लागि नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष, वडासदस्य, वडासचिव, करुणा फाउण्डेशनका जिल्ला तथा पालिकाका प्रतिनिधि लगायतसंग संयुक्त छलफल समेत चलाएको थियो ।
कार्यक्रमको सहजिकरण महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।
Discussion about this post