मेचीनगर, ११ पुस । काँकरभिट्टाका पुराना समाजसेवी एवम् लेखनदास ढाकाप्रसाद भट्टराईको निधन भएको छ ।
मेचीनगर–६, काँकरभिट्टा स्थित शान्ति गाउँ निवासी ८० वर्षीय भट्टराईको विहीबार दिउँसो ३ः४५ मा निजी निवासमा निधन भएको हो ।
लामो समयदेखि दम रोगबाट पीडित भट्टराईलाई ३ दिनअघि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।
दाजुको अस्पतालमा उपचार सम्भव नभएपछि आज दिउँसो ३ वजे घर ल्याइएको भाइ केन्द्रप्रसाद भट्टराईले जानकारी दिए । दिउँसो ३ः४५ मा घरैमा निधन भएको उनले बताए ।
शुक्रबार विहान स्थानीय मेची खोलाको गंगा घाटमा अन्त्यष्टि गरिने बताइएको छ ।
उनको श्रीमति मनमाया, ४ जना छोरीहरु तारा निरौला, चन्दा न्यौपाने, अम्रिता घिमिरे र रुक्षा रिजाल तथा धर्म छोरा अविनाश पराजुली छन् ।
भट्टराई काँकरभिट्टाका पुराना परिचित लेखनदास हुन् । उनी झापा जिल्ला अदालतबाट १९ नम्बरका दर्तावाला लेखनदास थिए ।
उनले २०७२ असोज ४ गते नेपालको संविधान जारी भएको भोलिपल्ट यस्तो प्रकारको संविधान बनाउनु पर्छ भनेर पत्रकार सम्मेलन गरेर संविधानको खाका सार्वजनिक गरेका थिए ।
भट्टराईले काँकरभिट्टामा सञ्चार सुविधा नभएका बेला राससको टेलिफोन बाहेक निजी क्षेत्रबाट पहिलो पटक सार्वजनिक रुपमा सर्वसाधारणलाई टेलिफोनको सेवा प्रदान गरेका थिए ।
भट्टराईको निधनले काँकरभिट्टा शोकमग्न भएको छ । शान्ति गाउँ नै स्तव्ध बनेको छ । मेचीनगर अनलाइन डटकम परिवार भट्टराईप्रति भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौँ ।
Discussion about this post