मेचीनगर, २६ पुस । २०३५ सालमा काँकरभिट्टामा धारा नहुँदा कुवाबाट पानी भारमा बोकेर नागरिकलाई पानी खुवाउने दुई जना व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २९ औँ वार्षिक साधारण सभामा ०३५ सालमा भारबाट पानी बोकेर सेवा दिने मेचीनगर–७ का ७९ वर्षीय धुम्मलाल राजबंशी र ७६ वर्षका कप्तान राजबंशीलाई सम्मान गरेको हो ।
उनीहरुलाई जनही नगद ५ हजार प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । राजबंशीद्वयले २०३५ सालमा एक भार बराबर ३५ पैसामा नागरिकलाई पानी खुवाउने गरेका थिए ।
यस्तै संस्थाले उपभोक्ता एवम् समाजसेवीद्वय पूर्णबहादुर राई र रमा भण्डारीलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरेको छ । यसैगरी संस्थाका फिण्ड कर्मचारी छविलाल लिम्बुलाई नगद ७ हजार र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
सम्मानित सबैलाइ प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्माले सम्मान गरेका थिए ।
पानी भारमा बोकेर नागरिकलाई पानी खुवाउने सेवा प्रदान गर्ने दुवै जनालाई सांसद शर्माले धन्यवाद दिएका थिए ।
कार्यक्रममा सांसद शर्मा, मेचीनगरका पूर्व मेयर विमल आचार्य, संघीय खानेपानी तथा ढल निकास डिभिजन कार्यालय विराटनगरका प्रमुख सुरजलाल चौधरी, नेकपा एमाले कोशी प्रदेश सदस्य देवकुमार राई, कांग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र कोशी प्रदेश सदस्य प्रकाश भण्डारी, राप्रपा नगरका कार्यबहाक अध्यक्ष होमबहादुर विष्ट, जसपाका नगर अध्यक्ष धनकुमार राई, बुधबारे साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ध्रुब ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको प्रतिवेदन अध्यक्ष रोहितकुमार बुढाथोकीले प्रस्तुत गरेका थिए । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न सभाको स्वागत उपाध्यक्ष गोविन्द गिरीले र सञ्चालन सचिव विशाल तामाङले गरेका थिए ।
Discussion about this post