बिर्तामोड, १० माघ । बिर्तामोड–५ स्थित अग्रसेन भवन परिसरमा रहेको गायत्री माताको मन्दिर सेवा समितिले पाँचदिने अनुष्ठानका साथ प्राण प्रतिष्ठा र नयाँ भवनको उद्घाटन गर्ने भएको छ ।
आज पत्रकारसँगको भेटघाटमा मन्दिर समितिले यही माघ १७ गतेदेखि पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्ने भएको हो भने मन्दिरको नयाँ भवनको उद्घाटन समेत गर्ने भएको छ ।
अढाई करोड लागतमा निर्माण भएको मन्दिरको उद्घाटन र कलशयात्रा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने भएको समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक रोनक बंशलले जानकारी दिए ।
उनका अनुसार माघ १७ गतेदेखि २१ गतेसम्म हरेक साँझ नेपाल तथा भारतका चर्चित भजन गायकसहित कलाकारहरुको प्रस्तुति रहनेछ ।
भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मासाहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने छन् ।
माघ २० गते नेपालका ऐतिहासिक जगदगुरु अनन्त विभूषित बादसन्त मोहनशरण देवाचार्य महाराजश्रीको प्रवचन रहने बंशलको भनाई छ ।
त्यस्तै अन्तिम दिन माघ २१ गते शोभायात्रा र प्राणप्रतिष्ठानको समापन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएको समितिका सदस्य विवेक अग्रवालले बताए ।
१० धुर जग्गामा निर्माण भएको मन्दिर भव्य र आकर्षक छ । अढाई करोडमा निर्माण भएको भव्य भवनको ५ धुर जग्गा खरिद गरिएको र ५ धुर जग्गा दाताले दान दिएको बताइएको छ ।
मन्दिर निर्माणका लागि काेशी प्रदेश सरकारले ४० लाख र बिर्तामोड नगरपालिकाले १५ लाख सहयोग गरेको अध्यक्ष बंशलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, मन्दिर निर्माण समितिका अध्यक्ष बंशल, सदस्य विवेक अग्रवाल, मुकेश अग्रवाल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन तथा प्रेस विज्ञप्ति बाचन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।
Discussion about this post