मेचीनगर, १३ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले पार्टीले सञ्चालन गरेको जरा अभियानलाई टोलदेखि केन्द्रसम्म छलफल र बहसलाई सशक्त ढंगलेअघि बढाउने निर्णय गरेको बताएका छन् ।
आज काँकरभिट्टामा एमाले मेचीनगर कमिटीले भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालको १० औँ जिल्ला अधिवेशनबाट नगरबाट सर्वसम्मत निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय प्रतिनिधिका पत्रकारहरुलाई बधाई तथा सम्मान कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
कोइरालाले पार्टीलाई थप मजवुद बनाएर लान केन्द्रीय कमिटीको निर्णय अनुसार देशभरी तीन महिने जरा अभियान टोल, इलाका, वडा, क्षेत्रदेखि केन्द्रसम्म सञ्चालन भइरहेको बताए ।
‘पार्टीलाई कमजोर पार्न देशी तथा विदेशी शक्तिहरु लागिरहेका छन्’, कोइरालाले भने–‘पार्टीको भवन बनाउन जग्गा दानदेखि विभिन्न विषयमा श्रद्वेय अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रम फैलाउने दुसाहस गरिरहेका छन् । पार्टीमा कुनै गुट छैन । त्यस्ता भ्रम, कमिकमजोरी र गलत प्रचारलाई जरा अभियानले समाप्त पार्नेछ ।’
कार्यक्रममा पार्टीका नेताहरुले मेचीनगर भूगोलबाट सर्वसम्मत चयन हुने प्रेस चौतारी नेपालका केन्द्रीय प्रतिनिधि अर्जुन कार्की, कोशी प्रदेश प्रतिनिधि लक्ष्मी उप्रेती, प्रकाश पौडेल, जिल्ला कार्यसमितिका सचिव युवराज आचार्य र कार्यसमिति सदस्य किशोर उपरकोटीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कोइराला, केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, एमाले कोशी प्रदेशका सदस्य देवकुमार राई, मेचीनगरका मेयर एवम् एमाले कोशी प्रदेश सदस्य गोपालचन्द्र बुढाथोकी, जिल्ला सदस्य कृष्ण कनाल, भूपाल शिवाकोटी, दुर्गा धमला, क्षेत्रिय सचिव राजु पोखरेल लगायतले चौतारीका निर्वाचित पत्रकारहरुलाई बधाईसहित सम्मान गरेका थिए ।
कार्यक्रममा सर्वसम्मत निर्वाचित चौतारीका जिल्ला सचिव आचार्यले प्रतिवद्वता मन्तव्य व्यक्त गरेका थिए । हालै सम्पन्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको महिला उपाध्यक्षमा निर्वाचित अम्बिका भण्डारी भने कार्यक्रममा घरायसी कारण उपस्थिति हुन सकिनन् ।
एमाले मेचीनगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा आयोजित कार्यक्रमको सहजिकरण नगर अध्यक्ष राजु कार्कीले गरेका थिए । अध्यक्ष कार्कीले मेचीनगरमा भएका गलत प्रचारहरुको भण्डाफोर गर्न भातृ संगठन प्रेस चौतारीसँग सहकार्य गरेरअघि बढ्ने बताए ।




Discussion about this post