झापा, २८ माघ । सशस्त्र प्रहरी झापाले पूर्वपश्चिम लोकमार्ग सडकखण्ड जामुनखाडी चोक नजिकै अवैधरुपमा भन्सार छलि ल्याएको चौँधसय केजी माछा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वाटर झापाबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको टोलीले चार लाख २० हजार मूल्य बराबरको करिव १४०० केजी अबैध माछा बरामद गरेको हो ।
आज विहान साढे ११ वजे कनकाई–१ जामुनखाडी स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जामुनखाडी चोक नजिकै उक्त परिमाणमा माछा बरामद गरेको थियो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा अवैध माछा बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र डिएसपी महेशराज बिष्टले जानकारी दिए ।
माछा र पिकअप चालक इनरुवा–७ सुनसरी निवासी २४ वर्षीय दिलकुमार चौधरीलाई नियन्त्रणमा लिई कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका निमित्त कार्यालय प्रमुख मुकेशकुमार सिंहको टोलीलाई बुझाएको उनले बताए ।
बरामद माछा क्वारेन्टाइन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको डिएसपी बिष्टले बताए ।
Discussion about this post