चारआली, ३ फागुन । चारआली वन क्षेत्रको सब्जी बजार हटाउन बल प्रयोग गरेपछि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले आपत्ति जनाएका छन् ।
मेचीनगर–१३ चारआलीमा आज वन क्षेत्र ओगटेर सञ्चालन आएका सब्जी बजारका स्थानीयलाई वन डिभिजन कार्यालयले सुरक्षा बल प्रयोग गरी हटाउन खोजेपछि नगरप्रमुख बुढाथोकीले आपत्ति गरेका हुन् ।
नगरप्रमुख बुढाथोकीले वन डिभिजन कार्यालय झापाका प्रमुख मेघराज राईलाई केहिदिन नहटाउन अनुरोध गरेका थिए । उनले वन क्षेत्रमा सञ्चालित अतिक्रमण हटाउन दश दिनको म्याद दिनुपर्ने बताए ।
‘स्थानीय व्यवसायीलाई वैकल्पिक स्थानमा राख्न केही समय त चाहिन्छ’, बुढाथोकीले भने–‘व्यवसायीहरुले नगरपालिकामा आएर १० दिनभित्र हट्ने लिखित निवेदन दिएका छन् । जनतालाई हठात् लखेट्नु उचित भएन ।’
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका स्थानीय नेताहरुले पनि नगरप्रमुख बुढाथोकीको भनाईमा समर्थन गरेर विकल्प दिएर संरचना हटाउन समय पाउनु पर्ने माग गरेका थिए ।
वन डिभिजन प्रमुख राईले पटक–पटक सार्वजनिक सूचना जारी गरेर पनि नहटेकाले म्याद दिन नसकिने जवाफ दिएका थिए ।
यसैबीच चारआलीमा वन क्षेत्र अतिक्रमण गरेर बनाइएका अस्थायी टहरा हटाउने क्रममा भएको विवादमा अएक महिला पक्राउ परेकी छन् ।
प्रगति सामुदायिक वनको क्षेत्र ओगटेर सञ्चालन गर्दै आएको सब्जी बजारका १८ वटा पसल सुरक्षा बल प्रयोग गरी हटाइएको थियो ।वनका अध्यक्ष विकास निरौलालाई अभद्र व्यवहार गरेको आरोपमा ति महिला पक्राउ परेकी हुन् ।




Discussion about this post