बिर्तामोड, १६ फागुन । काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेला परेपछि बिर्तामोड नगरपालिकाले कृषकलाई बिक्री बितरणमा रोक लगाएको छ ।
बिर्तामोड–९ स्थित मियावाडीमा भारतीय नागरिक पंकजकुमार रायले उत्पादन गरेको ब्रोकाउली र काउलीमा अत्याधिक विषादी भेटिएपछि नगरपालिकाले बिक्री बितरणमा रोक लगाएको हो ।
काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेला परेपछि बिर्तामोड नगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटा, कृषि प्राविधिक, नगर प्रहरीसहितको टोलीले तरकारी बारीको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कृषि शाखा प्रमुख कडरियाले अब अर्को पटक चेक जाँच नगरेसम्म ब्रोकाउली, काउली टिपेर बिक्री बितरण नगर्न कृषक रायलाई निर्देशन दिएका हुन् ।
दोस्रो पटकको चेकजाँचमा पनि विषादी देखिए बारीमै नष्ट गर्ने जानकारी दिए । कृषिथोक बजारमा बिक्रीका लागि ल्याईएको दुई क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ ।
आज आएको रिपोर्टका अनुसार ब्रोकाउलीमा ९५.१४ प्रतिशत र काउलीमा ९६.५२ प्रतिशत विषादी फेला परेको थियो । तरकारीमा ३५ प्रतिशत भन्दा बढि बिषादी भेटिए खान अयोग्य मानिन्छ ।
Discussion about this post