मेचीनगर, २० फागुन । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घर–घरमा गएर विरामीको उपचार र लगत संकलन गरिरहेको छ ।
नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता दिन घर–घरमा पुगेर विरामीको स्वास्थ्य र लगत संकलन गरिरहेको बताइन् ।
‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्नु पर्नेछ’, सापकोटाले भनिन्–‘३ वर्ष भइसक्यो । अब २ वर्षभित्र अभियान सफल बनाउने गरी काममा लागेका छौँ ।’
स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि माघ सम्ममा ११४ जना क्षयरोगका विरामी भेटिएका छन् ।
त्यस्तै गतवर्ष २०८०÷०८१ मा २०५ जना क्षयरोगका विरामी भेटिएका थिए । यसैगरी २०७९÷०८० मा २०० जना क्षयरोगका विरामी भेटिएको थियो ।
क्षयरोगका विरामीलाई विगतमा मेची आम्दा अस्पतालमा उपचार गरिएको थियो भने अहिले मेचीनगर आधारभूत अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ ।
गएको माघ महिनामा कोशी प्रदेश सरकारको सहयोगमा एआई प्रविधिबाट क्षयरोग रोगका शंकास्पद ५०० जना विरामीलाई छातीको एक्सरे लगायतका उपचार निःशुल्क गरिएको शाखा प्रमुख सापकोटाले जानकारी दिइन् ।
उनका अनुसार क्षयरोग रोगका प्रत्येक विरामीलाई वर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ ।
लगत संकलन गरिएका क्षयरोग रोगका विरामीलाई निगरानीमा राखेर उपचारमा फलोअप गरिरहेको उनको भनाई छ ।
Discussion about this post