मेचीनगर, २० फागुन । चरा अभियन्ता देबेन्द्र खरेलले नेपालमा ‘बैजनी बुंगेचरा’ नामको नयाँ प्रजातिको चरा फेला पारेका छन् ।
नेपाल पंछीविद् संघले उक्त चरा नेपालमा नयाँ प्रजातिको रहेको पुष्टि गरेको खरेलले दावी गरे । ‘बैजनी बुंगेचरा’ फेला परेसँगै अब नेपालमा पाइने चराको संख्या ८९८ पुगेको छ ।
मेचीनगर–६ काँकरभिट्टा स्थित निवासी तथा मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले यसअघि ‘हरित परेवा’ नयाँ चरा नेपालमा फेला पारेका थिए ।
त्यस्तै खरेलले यसअघि नेपालबाट लोप भइसकेको ठानिएको ‘हङरायो’ नामक दुर्लभ चराको तस्वीर र भिडियो समेत खिचेर कीर्तिमान राखिसकेका छन् ।
खरेलका अनुसार ‘बैजनी बुंगेचरा’को अंग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ हो । भारत, श्रीलंका लगायतका कतिपय मुलुकमा यो चरा पाइएको छ ।
चरा खोजीको क्रममा खरेलले २०८१ फागुन ७ गते विहान ८ः३० बजे काँकरभिट्टाको एक बगैचामा ‘बैजनी बुंगेचरा’को जोडीको पहिलो तस्वीर र भिडियो खिचेका थिए ।
खरेलले फागुन ९ गते उक्त चराको तस्वीरलाई नेपाल बर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाएका थिए । संघका अध्यक्ष डा.तुलसी सुवेदीले आज प्रेस विज्ञप्तिमार्फत नेपालमा नयाँ चराको रुपमा ‘बैजनी बुंगेचरा’ थपिएको सार्वजनिक गरेका थिए ।
Discussion about this post