मेचीनगर, २१ फागुन । बाहुनडाँगीमा आजदेखि सुरु भएको इण्डो–नेपाल टी–२० नकआउट क्रीकेट प्रतियोगितामा भारतको सिलीगुडीले विजयी शुरुवात गरेको छ ।
मेचीनगर–४ स्थित बाहुनडाँगी युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको ड्रागन–११ लाई ४४ रनले पराजित गर्दै सिलीगुडीको पेनोरिस–११ विजयी भएको हो ।
टस हारेर पहिलो व्याटिङ गरेको सिलीगुडीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८९ रन बनाउँदै स्कोर गरेको थियो ।सिलीगुडीका लागि राकेशले सर्वाधिक ५३ रन बनाए । उनले ३३ बलमा ५३ रन बनाएर राजु धिमालको बलमा क्याच आउट भएका थिए ।
त्यस्तै सिलीगुडीका लागि सुभांकरले ३० बल खेल्दै ४५ रन, अरिन्दमले १९ बलमा नटआउट ४२ रन र सोतुले १२ बलमा नटआउट १७ रन बनाए ।
बलिङतर्फ ड्रागनका मोहन राजवंशीले २ रन र राजु धिमालले १ विकेट लिए । १९० रनको लक्ष्य पछ्याउने क्रममा ड्रागनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियोे ।
ड्रागनका लागि राजिभ महत्तोले सर्वाधिक ३९ बलमा ३९ रन बनाउँदै आउट भएका थिए । निर्मल न्यौपानेले आक्रामक ब्याटिङ गर्ने क्रममा १६ बलमा ३४ रन बनाए ।
त्यस्तै अमित दाहालले ११ बलमा १४ रन, मिलन धिमालले १० बलमा १५ रन बनाए । ड्रागनका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यता बलिङतर्फ सिलीगुडीका राकेशले सर्वाधिक ३ विकेट, अरिन्दम र देवाशिसले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच सिलीगुडीका राकेश घोषित भए । उनले नगद १ हजारसहित मायाको चिनो पाए ।
प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले व्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । वडाध्यक्ष कार्कीले बाहुनडाँगीले अब चाँडै सुविधा सम्पन्न क्रीकेट एकेडेमी सञ्चालन गर्ने बताए ।
प्रतियोगितामा १२ वटा टिम सहभागी रहेका छन् । फाइनल खेल आगामी चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक प्रविण भण्डारीले जानकारी दिए ।
Discussion about this post