मेचीनगर, २५ फागुन । आदिवासी जनजाति समुदायको लोप हुँदै गइरहेको रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्ने उदेश्यले मेचीनगरमा दुईदिने ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ ।
नन्दा कोरिडोर प्रर्वद्धन केन्द्र मेचीनगर–१० ले आज पत्रकार सम्मेलन गरेर नगरको मेचे, राजबंशी, धिमाल र दनुवार समुदायको रैथाने खानाका परिकारहरुको प्रर्वद्धन गर्न यही फागुन २७ र २८ गते ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
केन्दका अध्यक्ष धमेन्द्र खड्काले धुलाबारी निन्दा पुलदेखि दक्षिण स्थित पश्चिमको नन्दा कोरिडोरमा आयोजना हुने ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ मा मेचे, राजबंशी, धिमाल र दनुवार समुदायको अर्गानिक खानाका परिकारहरु स्टलमा रहने बताए ।
त्यस्तै स्थानीय शान्ति समाजका महिलाहरुको पनि अर्गानिक खानाका परिकारहरुको स्टल रहने आयोजकको भनाई छ । महोत्सवमा पाँच वटा स्टल रहने छ ।
स्टलका संयोजक निरोज श्रेष्ठले महोत्सवमा राजबंशी समुदायको घुँगी, बेल्का, भाक्का, माछाको झोल, बैगुनको सब्जी लगायतका परिकार रहने बताए । उनका अनुसार दनुवार समुदायको बुंगोको आचार, गंगटा, हान्दी रोटी, नुहागी लगायतका खानाका परिकार बिक्रीका लागि रहने छ ।
त्यस्तै धिमाल जातिको तोल, ग्यान्द्रो, चीचीरी, सुँगुरको मासुको परिकार र मेचे जातिको याङखारे, फेतो, सीताउँ, कुखुराको मासु लगायतका खानाका परिकारको स्टल रहने श्रेष्ठले जानकारी दिए ।
यसैगरी महोत्सवमा स्थानीय शान्ति समाज टोलका महिलाहरुले पनि स्टलमा सेलरोटी, कोदोको सुप, ढेडो, फापरको फुलाउरा लगायतका खानाका परिकार बिक्रीका लागि राख्ने उनको भनाई छ ।
अध्यक्ष खड्काले महोत्सवमा पहिलो दिन मेचे र धिमाल समुदायको रैथाने खानाको परिकार रहने र दोस्रो दिन अर्थात समापनमा दनुवार र राजबंशी समुदायको खानाको परिकार रहने बताए ।
स्टलमा दनुवार, मेचे, राजबंशी र धिमाल जातिका परम्परागत सामग्री र चित्रकला प्रर्दशनीमा राखिने भएको छ । उनीहरुको रैथाने परिकार सम्बन्धी माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत हुने छ । त्यस्तै बिर्तामोडको एउटा कलेजले कला तथा साहित्य सम्बन्धी जानकारी गराउने छ ।
महोत्सव सञ्चालन गर्न करिव ५ लाख खर्च हुने अनुमान आयोजकको छ । यसका लागि मेचीनगर नगरपालिकाले ३ लाख रुपैयाँ र पर्यटन कार्यालय काँकरभिट्टाले ५० हजार सहयोग गर्ने खड्काको भनाई छ ।
उनले अर्को वर्षदेखि हरेक फागुनमा अन्य समुदायको पनि लोप हुन लागेको रैथाने खानाको परिकार राख्ने गरी महोत्सव आयोजना गरिने जानकारी दिए ।
केन्द्रका सहसचिव देबेन्द्र दाहालका अनुसार लागूऔषधको अखडा रहेको नन्दा कोरिडोरमा अहिले त्यस्को संरक्षण गरेर खुल्ला व्यामशाला, हावा घर, जरुर प्रजातिका फुलहरु रोपेर हरियाली बनाइरहेको अवस्था छ ।
आदिवासी जनजातिको थाकथलो रहेको यस ठाउँमा लोप हुँदै गइरहेको रैथाने खानाको परिकारलाई प्रर्वद्धन गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागिएको उनको दावी छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले वडा कार्यालय र यहाँका युवाहरुले नन्दा कोरिडोर फोहोर मैलाको डम्पिङ साइड, लागूऔषधको विकराल अवस्था रहेको ठाउँलाई संरक्षण र पर्यटन प्रर्वद्धनमा लागिरहेको बताए ।
स्थानीय मेचे, धिमाल, दनुवार र राजबंशी समुदायको लोप हुन लागेको रैथाने खानालाई पनि प्रर्वद्धन गर्न महोत्सव सफल हुनेमा आशावादी रहेको उनको भनाई छ ।
नन्दा कोरिडोर प्रर्वद्धन केन्द्रका अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव निर्मल दाहालले गरेका थिए ।
भिडियो पनि हेर्नुहोला
Discussion about this post