मेचीनगर, ११ चैत । मेचीनगर नगरपालिकाले विश्व क्षयरोग दिवसको अवसरमा वडा नं.१५ बाट क्षयरोगीका विरामीलाई पोषण प्याकेज बाड्न सुरु गरेको छ ।
मेचीनगर–१५ नम्बर वडा कार्यालयमा सोमबार क्षयरोग दिवसमा नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोगीका विरामीलाई पोषण प्याकेज बाडेको छ ।
‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिवद्वता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने मुल नाराका साथ वडा कार्यालयमा क्षयरोग दिवस मनाइएको हो ।
वडाध्यक्ष गुणराज भट्टराई (राजन) ले क्षयरोगीका विरामीलाई पोषणयुक्त खानेकुराको प्याकेजका रुपमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल वितरण गरेका छन् ।
कार्यक्रममा वडाध्यक्ष भट्टराई, क्षयरोग नियन्त्रण अभियानका युवा समूहका अध्यक्ष असीम श्रेष्ठ, क्षयरोग निको भएका विरामीहरुले पनि अन्तरक्रियामा आ–आफ्नो धारणा राखेका थिए ।
क्षयरोग नियन्त्रण अभियानका युवा समूह, वडास्तरीय समिति, महिला स्यामसवीका, स्थानीय समाजसेवी लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा वडाको स्वास्थ्य केन्द्रमा आयोजना गरेको कार्यक्रममा नियमित क्षयरोगीको औषधि खाएर निको भएका विरामीलाई नगदसहित सम्मान समेत गरिएको थियो ।
स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि अहिले सम्ममा १४४ जना क्षयरोगका नयाँ विरामी भेटिएको बताइन् । गतवर्ष २०८०÷०८१ मा २०५ जना क्षयरोगका विरामी भेटिएको उनको भनाई छ ।
क्षयरोगीका विरामीलाई प्रत्येक वडामा पोषणयुक्त खानेकुराको प्याकेज बाडिने शाखाले जनाएको छ । क्षयरोग दिवस कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख सापकोटाले गरेकी थिइन् ।




Discussion about this post