मेचीनगर, २३ चैत । नयाँ वर्षमा चालिस कटेका एकसय जनालाई काँकरभिट्टा भेट्रान फुटबल क्लबले चार किलोमिटर दौडाउने भएको छ ।
आज काँकरभिट्टा भेट्रान फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर आगामी बैशाख १ गते ‘नयाँ वर्ष भेट्रान रोड रेस’ कार्यक्रम गराउने भएको जानकारी दिएको हो ।
क्लबका सदस्य एवम् आसाम टुर एण्ड ट्राभल्सका सञ्चालक सजित तामाङकी जीवनसाथि समाजसेवी विमला तामाङको जन्मोत्सवको अवसरमा बैशाख १ गते ‘नयाँ वर्ष भेट्रान रोड रेस’ कार्यक्रम गराउने भएको महासचिव शेरबहादुर वस्नेत (सुन्दर) ले बताए ।
वस्नेतका अनुसार मेचीनगर–७ स्थित सतिघट्टाबाट काँकरभिट्टाको खेल मैदान करिव ४ किलोमिटर ४० वर्ष उमेर कटेका १०० जनालाई सहभागी गराएर खुल्ला प्रतिस्पर्धा गराइने छ । प्रवेश शुल्क निःशुल्क हुनेछ । प्रतियोगितामा महिला वा पुरुष जो पनि सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने विजेतालाई नगद ३० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १० हजार र सान्तवना हुने ७ जनालाई नगद जनही १ हजार, प्रमाणपत्र र मेडल रहेको छ ।
विहान ७ वजेदेखि सुरु हुने भेट्रान रोड रेसमा सहभागी हुनेले केहि मापदण्डहरु पालना गर्नु पर्नेछ । जसमा ४० वर्ष उमेर नाघेको डकुमेन्ट पेश गर्नु पर्छ, सहभागीले सेतो टिसर्टसहित स्पोर्ट ड्रेस लगाउनु पर्नेछ, सहभागीहरुको कुनै दुर्घटना भएमा प्राथमिक उपचार बाहेक अरु आफै जिम्मेवार हुनु पर्नेछ ।
सहभागीहरुको दुर्घटना भइहालेमा प्राथमिक उपचारका रुपमा एम्बुलेन्स र चिकित्सकको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक राजु पौडेलले बताए ।
सतिघट्टाबाट सुरु हुने औपचारिक कार्यक्रमको कोशी प्रदेशका सांसद गोपाल तामाङले रिवन काटेर उद्घाटन गर्ने छन् ।
‘खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान’ भन्ने मुल नाराका साथ समाजमा सक्रिय काँकरभिट्टा भेट्रान फुटबल क्लबले नयाँ वर्षको सुरुवातमा यो कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष गंगालाल गुरुङले बताए ।




Discussion about this post