मेचीनगर, २४ चैत । एशियन हाइवे अन्तरगतको मेची पुलमा सिटी रिक्साको जाम अब हट्ने भएको छ ।
नेपाल र भारतका सिटी रिक्सा व्यवस्थापन समितिका अध्यक्षहरुको छलफलपछि मेची पुलमा सिटी रिक्साको जाम अब हट्ने भएको हो ।
नेपालतर्फ काँकरभिट्टा स्थित सिटी रिक्सा व्यवस्थापन समितिका अध्यक्ष गणेश चौहान र भारततर्फ पानीट्याङ्की सिटी रिक्सा व्यवस्थापन समितिका अध्यक्ष रामकुमार क्षेत्रीबीच बसेको छलफलले केहिदिनभित्रै मेची पुलमा सिटी रिक्साको जाम हटाउने सहमती भएको छ ।
मेचीनगर नगरपालिकाको बस टर्मिनल बसपार्क तथा पार्किङ व्यवस्थापन समिति अन्तरगत पार्किङ व्यवस्थापन उपसमितिका संयोजक रामबहादुर तामाङले शनिबार काँकरभिट्टा र पानीट्याङ्कीका सिटी रिक्सा व्यवस्थापन समितिका अध्यक्षहरुको वैठकले मेची पुलको जाम हटाउने सहमती भएको बताए ।
उनले सहमती अनुसार सिटी रिक्सा पानीट्याङ्की बसपार्कदेखि सिधै काँकरभिट्टा बस टर्मिनल बसपार्क र यताबाट पनि सोही अनुसार मात्र रोक्न पाउने जानकारी दिए ।
हाल अस्थायी रुपमा पानीट्याङ्कीबाट आएका सिटी रिक्सा बस टर्मिनल बसपार्क पश्चिम यात्रु ड्रप मात्र गर्न पाउने र नेपाल बैंक भवनको पछाडीपटि बसपार्कबाट यात्रु चढाउन पाइने नियम सुरु गरिएको छ ।
सहमती अनुसार मेची पुलमा सिटी रिक्साको भीड नहटाए र अव्यवस्थित पार्किङलाई सहज नगरे कानुन अनुसार कारवाही गरेरअघि बढ्ने पार्किङ व्यवस्थापन उपसमितिका सचिव नेत्र कार्कीको भनाई छ ।
यसअघि पनि पानीट्याङ्कीको सिटी रिक्सा व्यवस्थापन समितिका अध्यक्ष, एसएसवी, ट्रेड युनियन र त्यहाँका राजनीतिक दलहरुसँग पार्किङ व्यवस्थापन र मेची पुलको जाम हटाउने विषयमा कुरा भएको उनले बताए । अब केहिदिनमा फेरि पारीतिरकाहरुको वैठकपछि अन्तिम टुंगो लाग्ने बताइएको छ ।
उपसमितिको सदस्यमा नेपाल प्रहरी, सिटी रिक्साका अध्यक्ष, होटल व्यवसायी, यातायात व्यवसायी, नगरप्रहरी लगायत रहेका छन् ।
पूर्वी नाका काँकरभिट्टा बसपार्कमा अव्यवस्थित पार्किङ र मेची पुलमा सिटी रिक्साको जामले विदेशी पर्यटक र सर्वसाधारणहरुले आवत–जावतमा सास्ती व्यहोरिरहेका छन् ।
भूटान, म्यानमार र बंगलादेशसँग सीमाना जोडिएको भारत र नेपालको मुख्य नाकाको पुरानो पुलैमा सिटी रिक्साको जाम, यात्रुलाई सास्ती, यात्रुको ठगी, अवैध रुपमा ल्याइएका सामानहरुको भण्डारण गर्ने ठाउँको रुपमा पुललाई बनाइएको छ ।




Discussion about this post