मेचीनगर, २८ चैत । मेचीनगर–९ स्थित मागुरमाडी बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुले बचत रकम फिर्ताको माग गरेका छन् ।
मागुरमाडी सहकारीले सदस्यहरुको जम्मा रकम फिर्ता नगरेका कारण पैसा उठाइदिन विभिन्न सरोकारवाला निकाय धाइरहेका छन् ।
मागुरमाडीको झन्डी चोकमा कार्यालय रहेको उक्त सहकारी संस्था बन्द अवस्थामा छ । कार्यालय बन्द भएको पनि करिव १५ महिना भइसक्यो ।
संस्थामा सदस्यहरुले जम्मा गरेको करिब ३६ लाख रुपैयाँ छ । पैसा फिर्ता पाउँ भनी सम्बन्धित निकायको ढोका पुगेका सदस्यले अहिलेसम्म पैसा पाएका छैनन् ।
एकजना पीडित सदस्य गोपी तिवारीका अनुसार पैसा फिर्ता पाउँ भन्दै आफूहरु जिल्ला प्रशासन कार्यालय झापा, मेचीनगर नगरपालिका, ९ नं.वडा कार्यालयको मेलमिलाप समिति र इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन लिएर पुगिसकेको बताए ।
छलफलमा मेलमिलाप समितिले पनि सदस्यको १० हजारमाथिका पैसा फिर्ता गर्दै जानु भनेको पीडित तिवारीले बताए । सहकारीको सञ्चालक समितिले सदस्यहरुको पैसा फिर्ता गरिदिने भनेर बचन दिएको थियो ।
बुधबार पीडित सदस्यहरुले धुलाबारीमा पत्रकार सम्मेलन गरेर रकम फिर्ता पाउँ भनी माग गरेका छन् । सदस्य सानबहादुर तामाङले आफूहरुले दुःख गरी जम्मा गरेको पैसा फिर्ता नगरिदिएकोमा गुनासो गरे ।
२०६८ सालमा स्थापना भएको संस्थाको अध्यक्षमा हाल दुर्गा आचार्य छन् । अध्यक्ष आचार्यले सदस्यहरुको रकम फिर्ता गर्न नसकेको स्वीकार गर्दै जसरी पनि फिर्ता गर्ने बताए ।
उनले आफू अध्यक्ष हुनुभन्दा पहिलेदेखि नै सहकारीमा समस्या आएकाले एकैपटक सदस्यको रकम फिर्ता गर्न नसकिएको बताए । संस्थाका करिव २०० जना सदस्य पीडित भएपनि हाल ३६ जना सदस्यले रकम फिर्ताको माग गरेर विभिन्न निकायमा निवेदन गरेका छन् ।
पत्रकार सम्मेलनको सहजीकरण नेकपा माओवादी केन्द्र मेचीनगरका सहसचिव ज्ञानेन्द्र सम्बाहाम्फे लगायतको समूहले गरेका थिए ।




Discussion about this post