

मेचीनगर, १५ बैशाख । धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीहरुले नेपाली युवाहरु विदेश गएकाले काम गर्न भारतीय मजदुर ल्याउनु पर्ने बाध्यता रहेको बताएका छन् ।
श्रम तथा रोजगार कार्यालय भद्रपुरले आज दिउँसो मेची उद्योग बाणिज्य संघको सहजीकरणमा आयोजित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रममा उद्योगी–व्यवसायीहरुले यस्तो कुरा बताएका हुन् ।
धुलाबारी स्थित संघकै सभाहलमा आयोजना भएको कार्यक्रममा अधिकांश व्यवसायीहरुले राज्यको कानूनी झनझटका कारण पनि नेपाली युवाहरु नभएकाले भारतीय नागरिकहरुलाई मजदुरी काममा लगाउन बाध्य भएको बताएका छन् ।
श्रम तथा रोजगार कार्यालय भद्रपुरका प्रमुख सुवभ श्रेष्ठले कामदारको पारिश्रमिक, सेवा सुविधा, दण्ड सजाय, स्वास्थ्य, सुरक्षा र त्यसका कानूनी प्रक्रियाका बारेमा तथा उद्योगी व्यवसायीहरुले कामदारलाई काम लगाए बापतको सुविधाका विषयमा प्रोजेक्टर मार्फत प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले नेपाली कामदार भारत र विदेशमा कानून अनुसार काम गर्न पाउने तर, उताका कामदारलाई यता काममा लगाउँदा व्यवसायीलाई कानूनी समस्या हुने भएकोले राज्यले यो कुरालाई बुझ्नु पर्ने बताए ।
भारत लगिएका अँदुवा, कुँचो, प्लाईउडका गाडीहरु पास हुन नसकेर पुलमा नै राकिने पर्ने, फिर्ता गर्नु पर्ने बाध्यताको अन्त्य गरिनु पर्ने उनको जोड थियो ।
कार्यक्रममा मेची उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेल, पूर्व महासचिव ध्रुब कनाल, सदस्यहरु योगेन्द्र चिमरिया, सन्तोष खवास, नेपाल भेनियर उत्पादक महासंघका अध्यक्ष श्याम न्यौपाने, व्यवसायीहरु युवराज चुडाल, सुमन भट्टराई, मनोज पोखरेल, अरुण साह, हेमचन्द्र भट्टराई लगायतले नेपाली युवा भिषा आउने वित्तिकै काम छाडेर विदेश जान्छन्, भारतीय मजदुरलाई काम लगायो सामाजिक सुरक्षा भत्तामा सहभागी गराउने कानूनले दिँदैन, सरकारले मजदुरको हितमा जसरी ऐन बनाएको छ, त्यसरी नै उद्योगी–व्यवसायीहरुको हक, हित र सुरक्षामा ध्यान दिनु पर्ने समस्या र सुझावहरु राखेका थिए । उनीहरुले १९५० को व्यापार सन्धीमा भएको कुरालाई दुवै देशले अक्षरस पालना गर्नु पर्ने बताएका छन् ।
मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल)ले धन्यवादसहित समापन गरिएको कार्यक्रमको स्वागत श्रम तथा रोजगार कार्यालय भद्रपुरका नासु मात्रिका कट्टेलले र सञ्चालन संघका महासचिव दिनेश शाक्यले गरेका थिए ।
‘स्वास्थ्य र सुरक्षा क्षेत्रमा आमुल परिवर्तन, कार्यस्थलमा एआई र डिजिटल प्रविधिको अवलम्वन’ भन्ने मुख्य उदेश्यसहित श्रम तथा रोजगार कार्यालय भद्रपुरले यही बैशाख १५ गतेदेखि २१ गतेसम्म व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह कार्यक्रम झापामा सञ्चालन गरिरहेको छ ।




Discussion about this post