मेचीनगर, १५ बैशाख । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कपमा शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको छ ।
आज भएको खेलमा जहदा फुटबल क्लब मोरङलाई ३–२ गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी सेमिफाइनल प्रवेश गरेको हो ।
बुधबार हुने सेमिफाइनलमा शनिश्चरे एफसीले रेडहर्ष एफसी इलामको सामना गर्नेछ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेल निक्कै प्रतिष्पर्धात्मक भएको थियो ।
पहिलो हाफ १–१ को बराबरी सकिएको खेलको दोश्रो हाफमा भने शनिश्चरेले २ र जहदा एफसीले १ गोल गरेको थियो ।
शनिश्चरे एफसीका लागि ५ औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दिलाए । रेजिन सुब्बाको पासमा अभिषेक गुरुङले जाली चुमाएका थिए । १८ औँ मिनेटमा जहदा एफसीका लागि सुरज लिम्बूले गोल गर्दै खेललाई बराबरी बनाएका थिए । गोलरक्षक आयुष योङहाङको गल्तीको फाइदा उठाउँदै सुरज लिम्बूले सुन्दर गोल गरे । गोलरक्षक अगाडि बढेको अवस्थामा विट गर्दै सुरजले गोल गरेका थिए ।
खेलको ४९ औँ मिनेटमा शनिश्चरे एफसीका लागि गणेश गजमेरले गोल गर्दै खेलको स्थिति २–१ पु¥याएका थिए । क्षितिज अधिकारीको स्थानमा दोश्रो हाफमा मैदान प्रवेश गरेका गजमेरले जहदा एफसीको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । जहदा एफसीका सविन राईले डिबक्स भित्र बल क्लियर गर्न नसक्दा गणेशले उत्कृष्ट गोल गरे ।
जहदा एफसीका लागि अवि लिम्बूले ५५ औँ मिनेटमा बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । उनले टिमका लागि गर्दै खेलको स्थिति २–२ बनाए । आक्रामक मुभ बनाएको शनिश्चरेले इञ्जुरी समयमा गोल गरेको थियो ।
शनिश्चरे एफसीका देवेन्द्र तामाङले गोल गर्दै टिमलाई जीत नजिक पु¥याएका थिए । देवेन्द्रले प्रहार गरेको फ्रिकिक गोलरक्षक आलोक लिम्बूले बचाउन सकेनन् । अनुभवी खेलाडीहरु देवेन्द्र तामाङ, रेजिन सुब्बा, दिवस उरावँ, अभिषेक गुरुङलगायतका खेलाडी मैदान उतारेको शनिश्चरेले अधिकांश समय बल नियन्त्रणमा राखेको थियो ।
खेलको प्लेयर अफ द म्याच दिवस उराँव घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।
भोलिको खेल आयोजक बाहुनडाँगी युवा क्लब र रथखोला फुटबल एकेडेमी, नक्सलबारी भारतबीच हुनेछ ।
Discussion about this post