मेचीनगर, २५ बैशाख । काँखको बच्चा छाडेर भविश्य खोज्दै वैदेशिक रोजगारका लागि विदेश गएका महिलाको कारुणिक कथा सुन्दा जो कोहिको पनि आङ सिरिङ्ग हुने गर्छ ।
कारुणिक कथा बोकेर कुवेतबाट आएकी मेचीनगरकी एक महिलाको कथा पनि यस्तै छ ।
‘विदेशको अनुभव स्वदेशमा सम्भावना, सम्मानित पुनःएकीकरण हाम्रो सपना’ भन्ने उदेश्यले वैदेशिक रोजगारबाट फर्किएर आएका व्यक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) ले बुधबार आयोजना गरेको सरोकारवालाहरुसँग सिफारिस पद्वतीका लागि समन्वय वैठकमा सामाजिक संस्थाकी अगुवा महिलाले उनको बारेमा खुलेर कुरा गरेकी थिइन् ।
कार्यक्रममा सहभागी साहसी महिला नेपालकी अध्यक्ष गीता राईले माथि उल्लेखित घटनाका पात्रका विषयमा बताएकी थिइन् ।
उनले भनिन्–‘आर्थिक अवस्था नाजुक ती महिलाले सानो छोरा छाडेर घरायसी कामका लागि कुवेत गइन् । उनको बाध्यता थियो । घरको कामसँगै घरधनीका घृणित अपेक्षाहरु पूरा गरिदिनु पर्ने । घरधनीका यस्ता घृणित अपेक्षाहरु पूरा गर्न असमर्थ भएपछि आत्माहत्याको बाटो रोजिन । घरको माथ्लो तलाबाट हामफालिन पनि, घाइते भइन् । मुस्किलले बाँचीन । प्यारालाइसीस भयो । नेपाल आइन । अहिले अलि अलि उठ्न र हिड्न सक्ने भइन् । आमाले मुस्किलले बनाएको आलु चिप्स् छोराले स्कुलमा लगेर बेच्ने गरेका छन् । दुःख सुख घर चलिरहेको छ ।’
विदेश गएर पीडा भोग्नु भन्दा यतै चटपटे, मम, आलु चिप्स् लगायतका साना उद्योग चलाएर आनन्दले काम गर्न ठिक रहेको राईले उनको कुरा सुनाइन् । यो त एउटा प्रतिनिधि पात्रको घटना मात्र हो । उनी जस्ता दर्दानक घटना सहेर विदेशमा बस्ने र नेपाल आएर दुःख गरिरहेका हजारौँ छन् ।
माइती नेपाल काँकरभिट्टाका प्रमुख गोविन्द घिमिरेले महिलाहरुलाई भरसक् विदेश जान रोक्नु पर्ने बताए । असुरक्षित तरिकाले विदेश गएका र आएकालाई राज्यले सचेतना, परामर्श र व्यवसायिक बनाउन सके यस्ता घटनाहरु न्युनिकरण गर्न सकिने उनको दावी छ ।
महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले पहिलो बालविवाह, दोस्रो सम्बन्ध विछेदपछि वैदेशिक रोजगारमा जानेको लहर धेरै रहेको बताइन् । उनीहरुको यो बाध्यता पनि हो ।
उनका अनुसार अधिकांश विदेश गएकाहरु उतै अलपत्र छन् । उनीहरुको उद्वारमा कठिनाई छ । जानुअघि उनीहरुलाई विश्वासिलो परामर्श दिन सके जोखिम कम हुने छ ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विदेश गएकाका परिवारका समस्या अनेक थरिका रहेको बताए । पारिवारिक समस्याका कारण सम्बन्ध विछेद, आत्माहत्या लगायतका समस्या समाधानका लागि आधारभूत तहमा रहेर प्रभावकारी काम गर्न सबै सामाजिक संघ–संस्थाहरुको सहकार्य आवश्यक रहेको उनको जोड थियो ।
कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, महिला विकास अधिकृत जयन्ती खरेल, लैङ्गीक हिंसा सम्बन्धि विज्ञ कमला उप्रेती लगायतले समस्या र सामाधानका उपयाका बारेमा धारणा राखेका थिए ।
आगामी वर्षदेखि यस क्षेत्रका विभिन्न सामाजिक संघ–संस्थाहरुलाई एकैठाउँमा बजेट राखेर प्राथमिकता आधारमा कार्यक्रम अघि बढाउने सोच नगरपालिकाको रहेको छ ।
रेमीकी परिवार परामर्शकर्ता सरस्वती मिश्रले सामाजिक न्याय, मानसिक स्वास्थ्य र उपचारका विषयमा जानकारी गराएकी थिइन् ।
रेमीले विदेशबाट फर्किएर मेचीनगर आएका करिव एक हजार जनालाई सचतेना कार्यक्रम गरिरहेको छ । वैदेशिक रोजगारमा जाने र फर्किएकाहरुलाई टोल–टोलमा पुगेर सामुदायिकस्तरको सचेतना गरिरहेको छ । भर्खरै पनि रेमीले मेचीनगरमा सन्देशमुलक नाटक प्रदर्शन समेत गरेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको अध्यक्षतामा समापन भएको कार्यक्रमको सहजीकरण रेमीका रोजगार परामर्शकर्ता फडिन्द्र दाहालले गरेका थिए ।




Discussion about this post