मेचीनगर, २५ बैशाख । बहुउपयोगी वनस्पतिका रुपमा रहेको सजिवन (मोरिङ्गा) खेती मेचीनगरमा सुरु गरिने भएको छ ।
मधुमेह, प्रेसर र अन्य थुप्रै विरामीका लागि औषधिका रुपमा रहेको सजिवन खेती मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक वन आसपास गरिने भएको छ ।
सजीउन खेतीका लागि थोप्लेविरान महिला कृषि सहकारी संस्थाले किसानहरुसँग मिलेर गर्ने भएका छन् । विहीबार मेचीनगर नगरपालिका र उक्त संस्थाले थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा सजिवन खेती गर्न इच्छुक किसानहरुलाई बोलाएर छलफल गरेको छ ।
नगरपालिकाका खाद्य विश्लेषक र कृषि विकास शाखा प्रमुख टेकेन्द्र प्रधानले सजिवन खेती गर्ने तरिका, उत्पादन र यसका फाइदा–वेफाइदा लगायतका विषयमा मसिनो गरी किसानलाई प्रोजेक्टर मार्फत बुझाउने कोशिस गरेका थिए ।
उनीहरुले मलिलो र बलौटे माटो, पानी नजम्ने माटो, ३५ देखि ४८ डिग्री सेल्सियस सम्मको तापक्रम, पाँच फिट सम्मको अग्लो रोहित जातको विरुवा, ४८ घण्टासम्म भिजाउने, १२ दिनमा उम्रने, त्यसको पचास प्रतिशत भाग छाहारीमा राख्ने, प्राङ्गारिक मलको प्रयोग, पहिला मल हालेपछि मात्र पानी हाल्ने, हाँगाबाट भन्दा पनि विउँ (दाना) बाट राख्ने, दुईसय मिटरको उचाईमा राख्ने लगायतका विषयमा जानकारी दिइएको छ ।
तरकारीमा सबभन्दा बढी पौष्टिक तत्व रहेको सजिवनको फल भन्दा पनि पातलाई ध्यान दिन आग्रह गरिएको छ । सुगर र प्रेसर कम गर्न यसले मद्वत गर्छ, गर्भवती महिलाहरुले सेवन गरे वेफाइदा रहेको छ । सजीउन अर्थात शितल चिनीका रुपमा पनि चिनिने यो खेतीको सुरुवात भारतको तमिलनाडुबाट भएको हो ।
दुध र अन्य फलफुल तथा तरकारी भन्दा सजिवनमा १४ गुणा धेरै पौष्टिक तत्व पाइने गरिएको छ । बहुउपयोगी वनस्पतिका रुपमा रहेको सजीउनको फलको तरकारी हुन्छ । फूल पनि खान हुन्छ । पातले धेरै रोगको औषधिको रुपमा काम गर्छ ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवम् मेचीनगरमा सजिवन खेती गर्नु पर्छ भन्ने सोच राखेका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले औषधिका रुपमा रहेको सजीउनको पातलाई पिठो (डस्ट) बनाएर विदेशमा बिक्री भइरहेको बताए ।
‘पश्चिमतिर यसको खेती मनग्ये छ’, बुढाथोकीले भने–‘त्यहि बुझेर यहाँ खेती गर्न कृषि समितिमा रहेका साथिहरुलाई प्रत्यक्ष अवलोकन गर्न पठाइएको हो । मैले पनि भारतबाटै एक प्याकेट डस्ट मगाएर खाइरहेको छु । कम खर्चमा यसलाई राम्रोसँग मिहिनेत गरे राम्रो आम्दानी हुने छ । उत्पादनलाई बजारीकरण नगरपालिकाले गर्नेछ ।’
यहाँबाट केहिदिनअघि मात्र अवलोकन गर्न गएका टोलीले रुपन्देही सैनामैना नगरपालिका–६ का कृषक गोविन्द कडेलले ६५ विघा क्षेत्रफलमा लगाएको सजिवन खेती प्रत्यक्ष हेरेका थिए ।
टोलीमा नगरपालिका आर्थिक विकास समिति प्रमुख समेत रहेका खाद्य विश्लेषक कार्की, कृषि शाखा प्रमुख प्रधान, आर्थिक विकास समिति सदस्य खेम सुब्बा, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समूहकी सचिव एवम् सजिवन (मोरिङ्गा) खेती व्यवस्थापन समिति संयोजक जानुका ओली, थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी श्रेष्ठ, व्यवस्थापक पवित्रा आचार्य, कृषक एवम् समितिका सदस्यहरु इन्द्र पाठक, पुष्पलाद दाहाल, जयप्रसाद दाहाल, छविलाल गौतम लगायत रहेका थिए ।
थोप्लेविरान महिला कृषि सहकारी संस्थाले करिव एक विघा क्षेत्रफलमा सजीउन खेतीका गर्ने भएको छ । जंगली मल र गडौली मल मिसाएर ३ बाइ ५ को पोलिव्यागमा राखेर तयारी गरिएको छ ।
सजिवन खेतीका लागि नगरपालिकाले ३ लाख रुपैयाँ बजेट पनि छुटाएको छ । नगरपालिकाको ८० प्रतिशत र संस्थाको २० प्रतिशत लगानी रहनेछ ।
उक्त संस्थाले कृषक कडेलकोबाट २ केजी सजिवनको विरुवा ल्याएको छ । २ केजी सजीउनको ६ हजार विरुवा हुन्छ । उक्त विरुवाहरु सजीउन खेती गर्न किसानलाई वितरण गरिने ओलीले जानकारी दिइन् ।
थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत समितिका सदस्य इन्द्र पाठकले र सञ्चालन संयोजक जानुका ओलीले गरेकी थिइन् ।




Discussion about this post