धुलाबारी, ९ जेठ । मेचीनगरको एउटा सहकारीले झापामा पहिलो पटक सहकारी विषयमा टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मेचीनगर–१० स्थित धुलाबारीमा मुख्य कार्यालय रहेको पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आगामी असार ७ गते टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो ।
आज संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १९ औँ बार्षिकोत्सवको अवसरमा ‘आजको बचत नै भविष्यको सुरक्षा हो’ भन्ने नाराका साथ ‘खुला टिकटक वक्तृत्वकला प्रतियोगिता’ गरिने जानकारी गराएको छ ।
संस्थाका अध्यक्ष वीपी भट्टराईले सहकारीमा नै बचत किन, भविष्यमा बचतको महत्व किन भन्ने उदेश्यले झापामा यस्तो प्रतियोगिता सहकारीका तर्फबाट पहिलो पटक आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिता प्रथम हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगीको ३ मिनेटको भिडियोलाई संस्थाको आधिकारिक टिकटक पेजबाट अपलोड गरिने र असार ४ गते राति १२ बजेसम्ममा त्यसमा आएका लाइक, शेयर र भ्यूजलाई निर्णायक मण्डलले गणना गर्ने भट्टराईले जानकारी दिए ।
प्रतियोगिता निर्णायक मण्डलमा मोहन काजी, ज्ञानेन्द्र निरौला र शारदा शर्मा रहेका छन् । लाइक, शेयर र भ्यूजलाई ५० प्रतिशत र प्रतियोगीको प्रस्तुतिलाई ५० प्रतिशत निर्णयको आधार बनाइने उनले बताए ।
जेठ १५ गतेदेखि २५ गतेसम्म प्रतियोगीले भिडियो वाट्सएप नं. ९८४१०१०४१८ वा इमेल purbidwarcoop@gmail.com बाट पठाउनु पर्ने पूर्वीद्वारका व्यवस्थापक प्रहलाद खड्काले बताए ।




Discussion about this post