झापा, ११ जेठ । झापाका पन्ध्र वटा पालिकाका प्रमुख र अध्यक्षहरुको परामर्श वैठकले साझा समस्याहरुलाई एकजुट भएरअघि बढ्ने निर्णय गरेका छन् ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा शुक्रबार सुरुङ्गामा बसेको पालिकाका प्रमुअ तथा अध्यक्षहरुको परामर्श वैठकले साझा समस्यालाई सामूहिक धारणा बनाएर अघि बढ्ने निर्णय गरेका हुन् ।
छलफलमा लागूऔषधको प्रयोग र कारोवार, नदीजन्य पदार्थ उत्खनन्, खेलकुद क्षेत्रको गतिविधि, बाहुनडाँगीको मानवसेवा आश्रमको भौतिक संरचना निर्माण तथा प्रशासनिक व्यवस्थापन, बजार क्षेत्रको भाडा दर, करको दायरामा एकरूपता, फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीमा विषादीको प्रयोग, जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य हुन नसक्दा दैनिक कार्यसम्पादनमा समस्या साझारुपमा फेस गरेर जाने निर्णय गरेका छन् ।
यसैगरी, नगर अस्पताल र बीमाको औषधि, सडक बाटोमा परेका बिद्युत पोल र तारको समस्या, सशस्त्र प्रहरीको पहलमा कमल गाउँपालिका अन्तर्गत पाडाजुँगीमा सञ्चालनको तयारीमा रहेको विद्यालय निर्माणमा सहयोग, पशु उपचार सेवालाई व्यवस्थित गर्ने, फोहोरमैला व्यवस्थापन, स्वास्थ्यकर्मीको दरवन्दी लगायतका महत्वपूर्ण विषयहरुमा एकजुट भएरअघि बढ्ने निर्णय गरेका छन् ।
फोहोरमैला व्यवस्थापनका लागि गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीसँग समन्वय गरेरअघि बढ्ने समेत निर्णय भएको छ ।
छलफलमा कनकाई नगरपालिकाका प्रमुख पोखरेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन, शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई, गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको उपस्थिति रहेको थियो ।
छलफलमा कनकाईका नगरप्रमुख पोखरेलले लागूऔषधको प्रयोग र कारोवारप्रति चिन्ता व्यक्त गरे । उनले यसको नियन्त्रणमा स्थानीय सरकार कडा रुपमा प्रस्तुत हुनु पर्ने बताएका थिए ।
मेचीनगरका नगरप्रमुख बुढाथोकीले स्थानीय स्तरमा करको दर, बजार क्षेत्रमा भाडा दर, फलफुल तथा तरकारीजन्य खाद्य सामग्रीमा विषादीको प्रयोगलाई न्युनिकरण र नदीजन्य पदार्थ उत्खनन्मा सबै पालिकाहरुबीच समन्वय हुनु पर्नेमा जोड दिए ।
बिर्तामोडकी नगरप्रमुख प्रसाईले सडक बाटोमा परेका बिद्युत पोल सार्ने सवालमा प्राधिकरणका कर्मचारी र अन्य मजदुरहरूका विषयमा एक रूपता हुन नसक्दा समस्या आएकोले बताइन् ।
सशस्त्र प्रहरीको पहलमा कमल गाउँपालिका अन्तर्गत पाडाजुँगीमा सञ्चालनको तयारीमा रहेको विद्यालय निर्माणमा सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ ।
स्थानीय तहमा रहेको फोहोरमैला व्यवस्थापन, खेलकुदका गतिविधि लगायतका विषयमा पनि साझा धारणा बनाउन आवश्यक रहेको उनको जोड थियो ।
अर्जुनधाराका नगरप्रमुख गोम्देनले हरेक पालिकामा पशु उपचार सेवालाई व्यवस्थित गर्दै वैज्ञानिक उपकरणसहित लम्की रोग लगायत विभिन्न रोगको उपचारलाई सहज बनाउन सबैको सामूहिक प्रयास जरुरी रहेको बताए ।
उनले नदीजन्य सामाग्री उत्खनन्मा पालिकाले अनुमति दिएको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारीबाट भएको अनुगमन पालिकाको नियम विपरीत भएकाले यसमा जिल्लाका सबै पालिकाको ध्यानाकर्षण हुनु पर्ने बताए ।
शिवसताक्षीका नगरप्रमुख थोप्राले खेलकुदका क्षेत्रमा पालिकामा ठुलो धनराशी खर्च भइरहेको भन्दै उनले खेलकुदमा वार्षिक एक करोड ४० लाख र पालिकाले निर्माण गर्न लागेको स्टडियममा लगातार तीन करोड खर्च भइसकेको बताए ।
यस्तै बुद्धशान्तिका अध्यक्ष प्रसाईले अस्पतालमा बीमाको औषधि बापतको रकम निकासा गर्न बीमा कम्पनीबाट ढिलो भएका कारण पालिकालाई समस्या भएको बताए ।
गौरीगंजकी अध्यक्ष राजवंशीले स्वास्थ्य संस्थामा सेवा विस्तार हुँदै जाँदा स्वास्थ्यकर्मीको दरवन्दी पनि आवश्यकता अनुसार विस्तार हुन नसक्दा समस्यामा परेको बताइन् ।
कचनकबलका अध्यक्ष राजवंशीले जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य हुन नसक्दा दैनिक कार्यसम्पादनमा समस्या हुने भन्दै आफ्नै पालिकामा केही समयअघि प्रमुख प्रशासकीय अधिकृतसँगको असमझदारीका कारण खटपटी भएको बताए । जनप्रतिनिधि र कर्मचारी बीचमा हुनसक्ने यस किसिमको समस्याका विषयमा समेत पालिकाहरुको फोरममा बहस हुन आवश्यक रहेको दावी गरिन् ।
परामर्श बैठकको स्वागत कनकाईकी उपप्रमुख आशा शिवाकोटीले गरेकी थिइन् ।




Discussion about this post