मेचनगर, ११ जेठ । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सीप सिकेपछि व्यवसाय गर्न गारो नहुने बताएका छन् ।
आइतबार मेचीनगर–८ स्थित सीप विकास केन्द्रको नयाँ भवनमा राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रमका लागि सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिमको समापनमा उनले यस्तो कुरा बताएका हुन् ।
‘आफुलाई कुन लुगाले सुहाउछ भनेर रोजेर लगाइन्छ’, प्रप्रअ अधिकारीले भने–‘त्यसरी नै जुन सीप सिकेर दक्ष बनेको हो त्यसैमा व्यवसाय गर्दा फाइदा र सहज हुनेछ । तर, त्यसका लागि मेहेनत, परिश्रम र केहि पैसा पनि लगानी गर्नु पर्छ ।’
महिलाहरुले गर्ने जुन सुकै उद्यमशीलताका लागि व्यवसाय उत्पादनको सामग्री र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने उनले बताए ।
कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले महिलाहरुलाई सीप सिकेर रोजगार बनाउने थुप्रै तालिमहरुमा नगरपालिकाले लगानी गरेको बताए । जनता र राज्यकै सम्पति भएकाले त्यसलाई ठिक ठाउँमा सदुपयोग गर्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट रीता कटुवाल र लीला रिजालले तालिमले रोजगार बनाउन मद्दत गरेको बताएका थिए । सिकेको सीपलाई व्यवहारमा उतार्ने र व्यवसायिक बन्ने उनीहरुको प्रतिवद्वता रहेको थियो ।
कार्यक्रममामा न्यायिक समिति सदस्य कुन्दन निरौला, कार्यपालिका सदस्य कविता खनाल मिजार, वडा ८ की सदस्य मनकुमारी गिरी, वडा ७ की सदस्य मीनमाया सुब्बा, नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेल लगायतको उपस्थिति रहेको थियो ।
तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागीलाई निर्मला चौहान भण्डारी र शुशीला थापाले प्रशिक्षण दिएका थिए । नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको आयोजकका रुपमा जिल्ला लघु उद्यमी समूह संघ झापा रहेको थियो ।
प्रशिक्षक एवम् जिल्ला लघु उद्यमी समूह संघ झापाकी अध्यक्ष समेत रहेकी प्रशिक्षक भण्डारीले तालिममा सहभागी महिलाहरुलाई उद्यमी बनेर व्यवसाय गर्न आग्रह गरेकी थिइन् ।
मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तालिममा सहभागी गोमा खड्काले र सञ्चालन सहभागी रीता न्यौपाने चौहानले गरेकी थिइन् ।




Discussion about this post