बाहुनडाँगी, १५ जेठ । तीस वर्षअघि भारतको नक्सलबारीबाट राँगा गाडीमा चित्रा र टिन ल्याएर सुरु गरेको बाहुनडाँगीको एउटा नीजि स्कुलले अहिले शिक्षामा सुधार गरेको अवस्था छ ।
२०५१ सालमा बाहुनडाँगी बजार नजिकै विद्या विकास एकेडेमी स्थापना गरिएको थियो । उक्त विद्यालय हाल मेचीनगर–४ को वडा कार्यालयसँग जोडिएको छ ।
नीजि विद्यालय खोल्ने उदेश्यले स्थानीय बुद्विजीवी, शिक्षासेवी र समाजसेवीहरुको हुटहुटीका कारण विभिन्न समस्याहरुसँग जुध्दैँ एकेडेमी स्थापना गरेका थिए ।
ग्रामिण क्षेत्रको रुपमा रहेको बाहुनडाँगीमा त्यतिबेला यातायातको सुविधा थिएन । सबै भन्दा ठुलो समस्या हात्तीको थियो ।
स्थापना कालका एक जना शिक्षक तोयनाथ दाहाल जसलाई टिएन सरको नामले परिचित छन् । उनी अहिले सामुदायिक विद्यालयका शिक्षक हुन् ।
विहीबार कक्षा १० सम्म पढाइ भइरहेको विद्या विकास एकेडेमीले एक कार्यक्रमको आयोजना गरेर आगामी शैक्षिक सत्रदेखि कक्षा–११ को पनि कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा उनै शिक्षक टिएन सरले २०५१ सालमा भारतको नक्सलबारीबाट राँगा गाडीमा चित्रा र टिन किनेर ल्याएर एकेडेमी सुरु गरिएको जानकारी दिए ।
त्यसबेलामा रमेश दाहाल लगायत अग्रज शिक्षासेवी र स्थानीयहरुको बलियो सहयोगले एकेडेमीले कक्षा–११ को पढाइ सुरु गर्ने सुनेर खुशी लागेको बताए ।
हाल विद्यालय सञ्चालन गरिरहेका एकेडेमीका निर्देशक बद्री निरौलाले कार्यक्रमको स्वागतसहित औचित्यमाथि प्रकाश पार्दै भने–‘अहिले विद्यालयमा ५२५ जना विद्यार्थीहरुले पढिरहेका छन् । यहाँबाट ३० जना विद्यार्थीहरुले भर्खरै एसईई दिए ।’
बाहुनडाँगीमा अहिले ७ वटा सामुदायिक मावि छन् । त्यसमध्ये २ वटा उच्च माविमा कक्षा ११ को पढाइ हुन्छ । ८ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।
निर्देशक निरौलाका अनुसार समुदायप्रति उत्तरदायित्वका कारण शहरी शिक्षा भन्दा अभिभावकको मन जित्ने गरी शैक्षिक क्षेत्र कै विज्ञ व्यक्ति जो स्थानीय पनि हुन् प्रोफेसर हेमराज कार्की, उहाँलाई एकेडेमिक डाइरेक्टरको रुपमा अब विद्यालयले ग्रहण गरेको छ ।
काठमाडौँका टप कलेजहरुमा पढाइ सकेका एकेडेमिक डाइरेक्टर प्रोफेसर कार्कीले कक्षा ११ का विद्यार्थीहरुलाई पनि काठमाडौँ कै मोडलमा पढाउने योजना बनाएका छन् ।
उच्चस्तरीय शैक्षिक वातावरण निर्माण गरेर शिक्षण पद्धतिमा सुधार, विद्यार्थीको सीप विकास, आत्मविश्वासमा अभिवृद्धि, भविष्यमा रोजगारीको अवसर, व्यवसाय गरेर काम गर्न सक्ने दक्षता हासिल गराउने उनको धोको छ ।
उच्च माविको व्यवस्थापन (म्यानेजमेन्ट) संकाय अन्तरगत एकाउन्ट, इकोनोमिक्स, इङ्लिश र नेपाली अनिवार्य रहेको छ भने अफशनलमा होटल म्यानेजमेन्ट र कम्युटर साइन्स राखिएको छ ।
अब नयाँ शैक्षिक सत्रदेखि सुरु हुने कक्षा ११ मा ४० जना विद्यार्थी भर्ना गरिने कार्कीले बताए । उनले २०६२ सालमा तत्कालिन मेची अञ्चलमा पहिलो पटक बिर्तामोड स्थित प्रोभिडेन्स कलेजमा होटल म्यानेजमेन्ट भित्राएको दावी गरे । अर्को वर्षदेखि कक्षा १२ पनि सञ्चालन गरिने बताइएको छ ।
उनका अनुसार त्यहि होटल म्यानेजमेन्टको विषय २० वर्षपछि यस एकेडेमीमा ल्याएको छु, आशा गरौँ विद्यार्थीहरुको भविश्य उज्जवल बनाउने कोशिसमा विद्यालयका टिम लाग्ने छ ।
कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले यहाँ टुरिजम कलेज पनि सञ्चालन भए आफै पनि पढने बताए । विद्यालयले राम्रो विद्यार्थी उत्पादन गर्न राजनीतिको गन्धबाट टाडै बस्नु पर्ने सुझाव दिएका थिए ।
बाहुनडाँगीका करिव ४० प्रतिशत विद्यार्थी उच्च शिक्षाका लागि काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, धरान, विराटनगर, काठमाडौँ र विदेशसम्म पुगेका छन् ।
उच्च शिक्षाका लागि गाउँदेखि नजिकै गएका विद्यार्थीहरुलाई समयको बचत, पैसाको खर्च र स्वास्थ्यलाई ध्यान दिने हो भने अब म्यानेजमेन्ट संकाय पढ्न टाडा जानु पर्ने झनझट कम हुने थेसिस स्कुलका संस्थापक प्रिन्सिपल डम्बर रुचालको बुझाई छ ।
पत्रकार सम्मेलनको सहजीकरण विद्या विकास एकेडेमीका सहायक प्रिन्सिपल विनोद प्रधानले गरेका थिए ।




Discussion about this post