मेचीनगर, २२ जेठ । मेयर र सांसदको पहलमा संघीय सरकारबाट मेचीनगरको समग्र विकासका लागि बजेटै बजेट छुट्टिएको छ ।
संघीय सरकारले यही जेठ १५ गते ल्याएको नीति तथा कार्यक्रमसहितको बजेटमा मेचीनगरको विकासका लागि विभिन्न १३ वटा शिर्षकमा बजेट आएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रतिनिधि सभाका सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निरन्तरको पहलमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलहरुको विशेष सहयोगमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि संघीय सरकारबाट बजेट विनियोजन भएको छ ।
नगरप्रमुख बुढाथोकीले मेचीनगर–१२ को भद्रकाली चोकदेखि कालीझोडासम्म सडक स्तरोन्नतिका लागि ३ करोड, मेचीनगर–२ को भानु माविबाट तितरी चोक हुँदै दिपज्योती चोकसम्म सडक स्तरोन्नतिका लागि ३ करोड, मेचीनगर–१४ को धाइजन चोकदेखि कृष्ण आधारभूत विद्यालयसम्म सडक स्तरोन्नतिका लागि ३ करोड, मेचीनगर–१२ को शहर डाँगी देवी मार्ग–श्रीजंगा मार्ग जोड्ने सडक निर्माणका लागि ३ करोड, मेचीनगर–६ भट्टराई चोकदेखि दुर्गा मन्दिरसम्म २ किलोमिटर सडक कालोपत्रेका लागि ३ करोड, मेचीनगर–९, १० र ११ जोड्ने धुलाबारी बजारदेखि मंगलीसम्म सडक स्तरोन्नतिका लागि ३ करोड बजेट विनियोजन भएको जानकारी दिए ।
त्यस्तै मेचीनगर–४ को आलडाँगी गणेश मन्दिरदेखि प्रधान चोकसम्म सडक स्तरोन्नति (दायित्व भुक्तानी) २ करोड १२ लाख ३० हजार रुपैयाँ, मेचीनगर–११ को दाहसंस्कार स्थल निर्माण (दायित्व भुक्तानी) १३ करोड, मेचीनगर–१३ को बांगे पुल नयाँ निर्माणका लागि ३ करोड, मेचीनगर–१५ को निन्दा नदीमा हेल्दुबाढीबाट विचार्नी बजार जोड्ने झोलुङ्गे पुल थप निर्माणका लागि ३ करोड, भद्रपुर–९ देखि मेचिनगर–१५ को नयाँ पुल निर्माणका लागि ४ करोड, मेचीनगर–१२ को शहरे डाँगी देवी मार्ग–श्रीजंगा मार्ग सडक निर्माणका लागि ३ करोड र ज्यामिरगढी, गुवालगाउँ को मेची नदीमा झोलुङ्गे पुल निर्माणको अध्ययन तथा डीपीआरका लागि ५ लाख बजेट विनियोजन भएको उनले बताए ।
संघीय सरकारले बजेट ल्याउनुअघि नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्व मेयर विमल आचार्य, एमालेका नेताहरु विष्णु प्रसाई, श्रीप्रसाद मैनाली, राजु कार्की लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतलाई काठमाडौँ गएर भेटेका थिए ।
Discussion about this post