मेचीनगर, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले उपचार सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
उनले अस्पतालको सञ्चालनपछि बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले गुणस्तरीय र भरपर्दो आधारभूत स्वास्थ्य सेवा आफ््नै गाउँमा पाउने विश्वास गरे ।
नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपाने थिइन् । स्व.न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च हुन् । उनकै स्मृतिमा उनका छोरा–छोरीले निःशुल्क प्रदान गरेको १५ कठ्ठा जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले । उहाँकै स्मृतिमा अस्पतालको नामाकरण गरिएको हो ।
अस्पतालमा एक जना एमडी, ४ जना एमबीबीएस र एक जना रेडियोलोजिस्ट र ६ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट ३ जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ ।
बहिरंग र अन्तरंग चिकित्सकीय सेवा अन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसुति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ ।
आगामी साउन १ गतेदेखि अस्पतालमा २४ घण्टै उपचार र बर्थिङ सेवा प्रदान गरिने जनाएको छ । पालिकाले यही जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको प्रसाईको भनाई छ ।
कार्यविधि अनुसार पालिकाका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।
बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा ६ करोड ५० लाखको लागतमा १० शैया रहेको अस्पताल निर्माण भएको हो ।




Discussion about this post