दमक, १० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कमल गाउँपालिका–६ स्थित दिब्यदृष्टि पूजा सामग्री उद्योगको निरीक्षण गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री कार्कीले दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रालिद्वारा सञ्चालित पूजा सामग्री उद्योगको अवलोकन तथा निरीक्षण गरेका हुन् ।
उनले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक उत्पादनमूलक उद्योगले स्थानीय रोजगार, संस्कृति संरक्षण र आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान दिन सक्ने बताए ।
यस्तो उद्योग प्रदेशको आत्मनिर्भरता र उद्यमशीलताका दृष्टिकोणबाट उदाहरणीय हुने भन्दै संघीय तथा प्रदेश सरकारको तर्फबाट आवश्यक नीति तथा सहकार्यमा सहयोग रहने कार्कीले प्रतिबद्धता जनाए ।
निरीक्षणमा आएका मुख्यमन्त्री कार्कीको टोलीलाई उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेल, कार्यकारी प्रमुख एवम् सञ्चालक बबिता तिम्सिनाले उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यवसायिक विस्तारबारे जानकारी गराएका थिए । उक्त टोलीमा प्रदेशसभा सदस्य, होमबहादुर थापा लगायत रहेका थिए ।
‘दिब्यदृष्टि ब्राण्ड अन्तर्गत शुद्ध, शास्त्र सम्मत र घरेलु स्रोतमा आधारित पूजा सामग्री उत्पादन गर्दै आएका छौँ’, अध्यक्ष पोखरेलले भने–‘धार्मिक आस्थाका सामग्रीमा गुणस्तर कायम राख्दै स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड दिन्छौँ ।’
अग्र्यानिक बाटेको मच्छडधुप, पूजाका लागि बाटेको धुप उत्पादन गर्दै ६० जनाभन्दा बढि महिलाहरुलाई अर्ध रोजगार र १५ जनालाई पूर्ण रोजगार दिएको पोखरेलको भनाई छ ।
उनका अनुसार उद्योगमा दिब्य समिधा, परिमल, बाटेको धुप, सप्तधान्य, गंगाजल, गौँ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौँ लगायत दुई दर्जन भन्दा बढी पूजाका सामग्री उत्पादन भइरहेको छ ।
उत्पादन भएका सामग्री कोशी प्रदेशका सबै जिल्ला, काठमाडौं, चितवन, बुटवल, नेपालगंज, दाङ लगायत देशभरी वितरण भइरहेको बताइएको छ ।
उद्योगले उत्पादनमा स्थानीय कच्चा पदार्थको उपयोग, महिला उद्यमीको प्रोत्साहन, जैविक उत्पादनको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ । निकट भविष्यमा प्याकेजिङ सुधार, बजार विस्तार र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य रहेको सञ्चालक तिम्सिनाले बताइन् ।




Discussion about this post