भद्रपुर, १६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेस क्लब भद्रपुरको नवनिर्मित कार्यालयको उद्घाटन गरेका छन् ।
आज क्लबको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारिता पेशा नीतिगत रुपमा सरकारका राम्रा कामहरुको प्रचार प्रसार र गलत क्रियाकलापको समालोचना गर्न सक्षम हुनुपर्ने बताए ।
प्रेस जगतले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्ने गरी निश्पक्ष भूमिका निर्वाह गर्नुपर्ने उनको जोड थियो ।
नकारात्मक शिर्षक दिएर समाचार लेख्यो भने बढी चर्चा र लाइक कमेन्ट पाइन्छ भन्ने लोभमा परेर भ्रामक र गलत समाचार लेख्न नहुने उनको धारणा थियो ।
सो अवसरमा भद्रपुरमा रहेर पत्रकारितामा योगदान दिनु भएका झापाका अग्रज पत्रकारहरु नकुल काजी र गोविन्दचन्द क्षेत्रीलाई मुख्यमन्त्री कार्कीले क्लबका तर्फबाट नगदसहित दीर्घसेवा सम्मान गरेका थिए । पत्रकार क्षेत्री स्वास्थ्य उपचारको क्रममा भारतको दिल्लीमा भएकाले सम्मान ग्रहणमा उपस्थिति हुन सकेनन् ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, दाताका तर्फबाट दुर्गाप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रोहित काफ्लेले र महासचिव डिल्लीरमण नेपालले गरेका थिए ।




Discussion about this post