मेचीनगर, २४ साउन । मेचीनगर–१४ स्थित मैनालीबाडीमा स्थानीय सामाजिक अभियन्ता दिपक ढकालको पहलमा चौतारो निर्माण भएको छ ।
मेचीनगर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना पोखरेल उप्रेतीले शुक्रबार चौतारोको उद्घाटन गरिन् ।
चौतारोको निर्माणमा सात लाख २७ हजार ८९० रुपैयाँ खर्च भएको मैनालीबाडी टोल विकास संस्थाका अध्यक्ष खेमराज ढकालले जानकारी दिए ।
झापाली बाम आन्दोलनका अग्रज नेताहरु राधाकृष्ण मैनाली र सीपी मैनालीको पैतृक बसोबासस्थल भएकाले यस गाउँलाई अहिले पनि मैनालीबाडी भनिन्छ । हाल मैनाली परिवार भने यहाँबाट अन्यत्र बसाई सरेर गइसकेका छन् ।
मैनाली परिवारको पहिचान समेत जोडिएको हुँदा चौतारोको नाम ‘मैनालीबाडी चौतारो’ राखिएको छ । यस गाउँमा हाल तीस घर परिवारको बसोबास छ ।
चौबाटोमा नवनिर्मित चौतारोको सम्पूर्ण संरचना पक्की छ । बलियो जग हालेर बनाइएको फराकिलो चौतारोको छत पनि पक्की नै छ । मौनालीबाडी टोल विकास संस्थाले चौतारोको निर्माण गरेको हो । चौतारोमा टोलको बैठक, छलफल र भेटघाट कार्यक्रम गर्न सकिने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख उप्रेती, विशेष अतिथि वडा नं.१४ का वडाध्यक्ष बाबुलाल सुब्बा लगायतको उपस्थिति रहेको थियो । यसका लागि मेचीनगर नगरपालिका, वडा कार्यालय, मैनाली परिवार र स्थानीयको सहयोग रहेको अध्यक्ष ढकालले बताए ।
नगरपालिकाले ४ लाख, पूर्व मन्त्री राधाकृष्ण मैनाली र राधिका मैनालीले ५० हजार, डिल्लीराम मैनाली र शोभा मैनालीले ५० हजार, मिनप्रकाश मैनाली र अम्बिकादेवी पकुवाल मैनालीले एक लाख सहयोग गरेको उनले बताए ।
त्यस्तै समाजसेवीहरु सरिन थापाले २० हजार, गंगादेवी खड्काले २५ हजार सहयोग गरेका थिए । ३५ जना भन्दा बढी दाताले आर्थिक र जिन्सी सहयोग गरेका थिए । कार्यक्रममा पाँच हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
मैनालीबाडी टोल विकास संस्थाका अध्यक्ष खेमराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत पूर्व सचिव सन्तोष न्यौपानेले र सञ्चालन सचिव दिपक ढकालले गरेका थिए ।





Discussion about this post