मेचीनगर, २५ साउन । राजनैतिक खवरदारीका रुपमा ‘०८४ मा महिला सबै ठाउँमा पहिला’ भन्ने उदेश्यले अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ ।
देशव्यापी हस्ताक्षर अभियान अन्तरगत महिला जनचेतना केन्द्रले पनि मेचीनगरमा अभियान सुरु गरेको हो ।
राजनीतिक दलहरुलाई लक्षित गरेर अनुपम अभियानको रूपमा हस्ताक्षर अभियान सफल पार्न अन्तरपुस्ता महिलावादी मञ्चले देशभरी नै हस्ताक्षर अभियान चलाइरहेको छ ।
महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले यो अभियान अन्तरगत आइतबार मेचीनगर नगरपालिका कार्यालय ईटाभट्टाको गेटमा हस्ताक्षर अभियान सुरु गरिएको बताइन् ।
मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेती, कर्मचारी, स्थानीय र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले हस्ताक्षर गरी अभियानलाई साथ र सहयोग रहने बताएका थिए ।
नगरको पन्ध्रै वटा वडा, संघ–संस्था लगायत सबै ठाउँमा हस्ताक्षर अभियान गरिने छ । तेस्रो वर्षका रुपमा सन २०२५ भरी यो अभियान जारी रहने छ ।
प्रधानका अनुसार पहिलो वर्ष सन २०२३ मा मेची–महाकली यात्रा गरिएको थियो । काँकरभिट्टादेखि महाकाली पुगेर नवलपुरुमा भव्य कार्यक्रम गरिएको थियो ।
दोस्रो वर्ष सन २०२४ मा यात्रै यात्रा गरिएको थियो । बस, गाडी, कार, जिप, ट्याक्सी, भ्यान, ट्याम्पो, सिटी रिक्सा लगायतमा यो अभियान चलाइएको प्रधानको भनाई छ ।
५ वर्षे अभियान अन्तरगत चौँथो वर्षका रुपमा सन २०२६ मा पनि अभियानलाई निरन्तरता दिँदै नवदपुरमा भेट नहुन्जेल देशभरी संकलित हस्ताक्षरहरु राजनैतिक दलका कार्यालयहरुमा बुझाउने कार्यक्रम जारी राख्ने बताइएको छ ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङका अनुसार अभियानको मुख्य उदेश्य न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पुर्याउने, पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्ने, राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पुर्याउने, परमुखि विकासको कूलो फर्काउदै आत्मसम्मान र आत्मनिर्भरता बढाउने रहेको छ ।
‘घर चलाउन सक्नेले देश हाक्न सक्छ’, प्रधानले भनिन्–‘आगामी ०८४ मा पचास प्रतिशत महिलाहरुलाई जनप्रतिनिधि बनाउनु पर्छ भन्ने राजनीतिक दलहरुलाई दवाव हो । अब महिलालाई मेयर, अध्यक्ष, वडाध्यक्ष लगायतका पदमा उम्मेदवार बनाउनु पर्छ, टिकट दिनै पर्छ भन्ने अभियान हो । महिलाहरुलाई सशक्त बनाएर लाने अभियान हो ।’




Discussion about this post