झापा, २८ साउन । प्रेस चौतारी नेपाल झापाले पहिलाे पटक स्थापना गरेकाे लेखनवृत्तिकाे पुरस्कार पत्रकार रमा दाहालले पाउने भएकी छन् ।
उनी कान्तिपुर टिभीकी झापा सम्वाददाता हुन् । उनलाई यही साउन ३० गते लेखनवृत्तिकाे पुरस्कार प्रदान गरिने भएको छ ।
झापा चाैतारीले संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको स्मृतिमा लेखनवृत्ति कार्यक्रमकाे पहिलाे पटक सुरूवात गरेकाे हाे । चौतारीकाे साेमबार बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरिएको थियाे । पुरस्कारकाे राशि ५ हजार रूपैयाँ रहेकाे छ ।
साउन ११ गते सम्पन्न जिल्लाको बैठकले चौतारी झापाका अध्यक्ष प्रदीप परियारको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनाएको थियो । जसकाे सदस्यमा फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य रहेका थिए । सो छनौट समितिले गरेको सिफारिसलाई जिल्ला कमिटीको बैठकले स्वीकृत गरेको थियाे ।
६ महिनामा प्रकाशित तथा प्रशारित समाचारहरु संकलन गरेर लेखनवृत्तिका लागि छनौट समितिले उत्कृष्ट समाचार लेख्ने पत्रकारको नाम जिल्लालाई सिफारिस गरेको थियो ।
पत्रकार दाहालले बाह्रदशी गाउँपालिकामा मुस्लिम, मधेशी समुदायका महिलाहरुको न्यायमा पहुँच नपुगेको विषयलाई समाचारमा प्राथमिकता दिएर उठाइएकाेले छनौटमा पर्न सफल भएको परियारकाे दावी छ । चौतारीले हरेक ६/६ महिनामा उत्कृष्ट समाचारका आधारमा पत्रकारलाई छनाैट गर्दछ ।
यसअघिकै बैठकले लेखनवृत्तिलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य सावित्रा दाहाल, फाँट इञ्चार्ज गदाल र नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीलाई कार्यविधि बनाउन जिम्मेवारी दिएको थियो ।
शुक्रबार लेखनवृत्ति पुरस्कार वितरणसँगै नारी सञ्चार गृह झापाकाे नयाँ समितिलाई बधाई ज्ञापन र तीज मिलन कार्यक्रम समेत गरिने छ ।




Discussion about this post