मेचीनगर, ४ भदौ । प्रत्येक बुधबार हाट बजार लाग्ने गरी आजदेखि ईटाभट्टामा स्थानीय भाषामा भन्दा हटिया सुरु भएको छ ।
मेचीनगर–७ स्थित ईटाभट्टामा बुधबार लाग्ने गरी साप्ताहिक हाट बजार स्थापना भएको छ ।
आज ७ नम्बर वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा हाट बजारको उद्घाटन मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेपछि सञ्चालनमा आएको हो ।
प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले गाउँमा उत्पादन भएका सबै प्रकारका अर्गानिक तरकारीहरु हाट बजारमा बिक्रीका लागि ल्याउन कृषकलाई अनुरोध गरेका छन् ।
उनले स्वास्थ्यलाई असर नपर्ने गरी विषादीरहित अर्गानिक तरकारीहरु बेच्न र किसानको तरकारी किनिदिन आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका झापा उपसभापति केशवराज पाण्डे, स्थानीय समाजसेवी दिनेश राजबंशी लगायतले स्थानीय उत्पादनलाई परुर्वद्धन गर्न सके किसान र ईटाभट्टाको नाम रोशन हुने बताए ।
ईटाभट्टा हाट बजार व्यवस्थापन समितिका अध्यक्ष खडानन्द भण्डारीले साप्ताहिक हाट बजार राख्नुको उदेश्य बारेका प्रकाश पारेका थिए ।
वडाध्यक्ष प्रलादमणि ओलीले कार्यक्रमको अध्यक्षतासहित धुलाबारी, चारआली र भारतको पारीपटि पानीट्याङ्की जानु पर्ने बाध्यतालाई अलिक सहज हुने गरी र यहाँ स्थानीय तरकारीलाई प्राथमिकता दिन साप्ताहिक हाट बजार सुरु गरिएको जानकारी दिए ।
आजको हटियामा स्थानीय अर्गानिक तरकारी, आइसक्रिम, कृष औजारहरु, रेडिमेट कपडा लगायतका सामग्रीहरु बिक्रीका लागि राखिएको थियो । कार्यक्रममा झापा नेशनलका विद्यार्थीहरुले आकर्षक नित्य समेत प्रस्तुत गरेका थिए ।
सोही अवसरमा वडा कार्यालयले तीज मिलन कार्यक्रम पनि राखेको थियो । वडाका महिलाहरुले छमछम नाचेर दर खाएर तीज मनाएका थिए । हाट बजार उद्घाटन कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मी राईले गरेकी थिइन् ।




Discussion about this post