झापा, २३ भदाै । दमक र बिर्तामोड क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले दमक नगरपालिका र बिर्तामोड नगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको हाे ।
जिल्ला प्रशासन कार्यालय झापाले दुवै क्षेत्रकाे सूचना जारी गरेर दमक र बिर्तामोड नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको सार्वजनिक गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी गाेपालकुमार अधिकारीकाे हस्ताक्षर रहेकाे सूचनामा सोमबार साँझ ८:३० बजेदेखि भाेलि मंलबार बिहान ५ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

दमककाे पूर्वमा रतुवा खाेला, पश्चिममा डिपाे राेड, उत्तरमा फाल्गुनन्द चाैक र दक्षिणमा पूर्व-पश्चिम मार्ग (एशियन हाइवे) क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको छ ।
त्यस्तै, बिर्तामोडकाे पूर्वमा बसपार्क, पश्चिममा रामचोक, उत्तरमा महानन्दचोक र दक्षिणमा सैनिक मोड क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको छ।
चारकिल्ला सिमा क्षेत्र ताेकी कसैले आवतजावत गर्न, भेला हुन, प्रदर्शन गर्न, बैठक गर्न, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।
जेनजीले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा सोमबार दमक, बिर्तामोड नगरपालिकामा आगजनी र नेकपा एमाले झापा पार्टी कार्यालयमा पसेर अध्यक्ष प्रेम गिरी र काेशी प्रदेश सांसद छवि चुडालकाे गाडीमा ताेडफाेड गरिएको थियाे ।
आन्दोलनकारी माथि प्रहरीले गोली प्रहार गरेकाे थियाे । केही घाइते भए । तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गर्नु परेकाे सीडीओ अधिकारीकाे भनाई छ ।
जिएनजीकाे आन्दोलनमा देशभरि १९ जनाकाे मृत्यु र करिव तीनसय ५० जना घाइते भएका छन् ।




Discussion about this post