मेचीनगर, २० असाेज । लगातारकाे वर्षासँगै आएको बाढीका कारण क्षति पुगेका ठाउँकाे स्थानीय सरकारले अनुगमन गरेकाे छ ।
बर्षाका कारण मेचीनगर क्षेत्रकाे मेची, निन्दा, सुके निन्दा, हडिया लगायतका नदीमा आएकाे बाढी कारण विभिन्न वडामा बाढीले क्षति पुर्याएकाे छ ।
बाढी पीडितकाे अवस्था बुझ्न मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, याेजना तथा अनुगमन प्रमुख अनन्तप्रकाश वस्ती, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की लगायत विपद् शाखाका कर्मचारी, नगरप्रहरी सहितकाे टाेलीले स्थलगत निरीक्षण गरेकाे छ ।
इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख प्रहरी निरीक्षक पाण्डवलाल राजबंशीसँग पनि सुरक्षाका बारेमा छलफल भएको थियाे ।
असाेज १८ गतेदेखिकाे अविरल वर्षाका कारण मेची नदीमा आएको बाढीले १९ गते विहान मेचीनगर-१५ वंशलस्थित मेची नदीकाेबीच भागमा फसेका चार जनालाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो ।
प्रहरी निरीक्षक राजबंशीले मेची पारीकाे नेपाली वस्ती वडा नम्बर १५ कै ग्वाल वस्तीका ५० वर्षीया खोमती यादव, साेहि स्थानका ५० वर्षीया मरियम मुर्मुलाई बाेर्डमा राखेर उद्वार गरिएको बताए ।
साेहि स्थानका ५० वर्षीय पग्लु पाहन र भारत घर भई हाल ग्वाल वस्ती बस्ने बर्ष ४० का बिष्णु सिंह र ५० वर्षीय पग्लु पाहन पानी रहेपछि मात्र वारी आउने भनेपछि उद्धार नगरिएकाे राजवंशीले जानकारी दिए । उनीहरू पारी पट्टि नै आफन्तकाेमा शरण लिएका थिए ।
स्थानीय सरकार, स्थानीवासी, प्रहरी प्रशासनकाे सहकार्य समन्वय र उच्च सतर्कता कारण बाढीका कारण मानवीय क्षति नभएकाे, धनकाे क्षति समेत ठूलाे मात्रामा हुन नपाएकाे उनकाे भनाई छ ।
मेचीपारीकाे ग्वाल बस्ती, झाँडु वस्ती, सिसाैँ डाँगीमा नेपालीहरूकाे बाक्लाे वस्ती छ ।
नगरपालिकाकाे टाेलीले मेची नदीले गरेकाे क्षति, मेचीनगर-३ पहलेधाप धरधरेकाे सुके निन्दा नदीले पुर्याएकाे क्षति, वडा नम्वर २, ४ र ८ लगायतका स्थानमा मेची नदी, निन्दा नदीले पुर्याएकाे क्षतिका बारेमा टाेलीले स्थानीयवासीसँग जानकारी लिइएकाे छ ।
टाेलीले बाढीबाट हुने क्षति कम गर्न, यसबाट बच्नका लागि खाेलानाला तथा नदी किनारमा नजान,भारी बर्षाका कारण बाढी, पहिराे र डुबान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सवैलाई पूर्व तयारीमा रहन, जाेखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्नसमेत आग्रह गरेकाे छ ।




Discussion about this post