
झापा, २४ असाेज । डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका नागरिकले प्रयाेग गर्दै आएको विद्युतीय तारबार हटाउन अनुराेध गरेकाे छ ।
वन कार्यालयले केहि दिनअघि जिल्लाका सबै पालिकालाई उक्त कार्यमा सहयाेग गर्न पत्रचार गरेकाे हाे ।
वनकाे पत्र अनुसार सबै पालिकाले वडा कार्यालयसहित स्थानीयलाई उक्त जानकारी गराएकाे छ । पत्रमा हात्ती प्रभावित क्षेत्रका स्थानीयले आफ्नो घर, गाेठ, खेतबालीमा असर नपुगाेस र ज्यान नजाओस् भनेर हात्तीलाई विद्युतीय धराप थाप्ने गरेकाे उल्लेख छ ।
अहिलेसम्म २६ वटा हात्तीको मृत्यु
जिल्लामा मरेका २६ वटा हात्ती मध्ये १४ वटा विद्युतीय धरापमा परी मृत्यु भएको वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठकाे दावी छ ।
हालसम्म ७५ जनाकाे मृत्यु
यस्तै हात्ती छेक्न आफैले लगाएकाे विद्युतीय धरापमा परी र हात्तीकाे आक्रमणबाट ७५ जना नागरककाे ज्यान समेत गएकाे श्रेष्ठकाे भनाइ छ ।
हात्तीकाे संरक्षण र नागरिककाे जिउँधनकाे सुरक्षाका लागि पनि संगठितरूपमा विद्युतीय र अन्य तारबार नलगाउन र नियन्त्रण गर्न सहयोग गर्न पालिकाहरूलाई पत्र पठाएर जानकारी गराएकाे छ ।
विशेष गस्ती टाेली
यसैबीच वन कार्यालयले बाहुनडाँगी लगायतका क्षेत्रमा धान पाक्ने सिजन आएसँगै सीमावर्ती भारतीय जंगलबाट हात्तीको हुल आउने भएकोले विशेष गस्ती टोली परिचालन गरेको छ ।
वन रक्षकको नेतृत्वमा ६ जनाको टोली असोज पहिलाे हप्तादेखि परिचालन गरिएको बताइएकाे छ ।




Discussion about this post