


मेचीनगर, १८ कात्तिक । निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज जेनजी आन्दोलनमा क्षति भएका नगरपालिका सहितका भवनहरू निरीक्षण गरेका छन् ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले मंगलबार दिउँसो मेचीनगर नगरपालिकाकाे कार्यालय, नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, एमालेका केन्द्रीय सदस्य रविन काेइराला, एमालेका नेताहरू विष्णु प्रसाईं, श्रीप्रसाद मैनाली, संघीय प्रतिनिधि सभाका निवर्तमान सांसद विश्वप्रकाश शर्मा, काेशी प्रदेशका सांसद गाेपाल तामाङ, नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, एमाले मेचीनगर पार्टी कार्यालयकाे ध्वस्त भएका भवनहरू अवलाेकन गरेका हुन् ।
गत भदाै २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले नगरका सरकारी र निजी भवनहरूमा ताेडफाेड, आगजनी र लुटपाट गरेका थिए ।
मन्त्री दाहालले निरीक्षणपछि जेनजी आन्दोलनका नाममा अराजक गर्ने आततायीहरूकाे समूहलाई खाेजी खाेजी पक्राउ गरेर कानुनी दायरामा ल्याउन सरकारलाई माग गरेका छन् ।
उनले जनप्रतिनिधि र पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ जनताकाे काममा लाग्न आग्रह समेत गरेका छन् ।
अहिलेको सरकार असंवैधानिक रहेको दावी गर्दै संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा एमालेले नै गर्नु पर्ने उनकाे जाेड थियाे ।
निरीक्षणमा आएका मन्त्री दाहाललाई नगरप्रमुख बुढाथोकी, एमाले नेताहरू काेइराला, चन्द्र प्रसाईं, राजु पाेखरेल, राजु कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारी लगायतले मेचीनगरकाे समग्र अवस्था बारे जानकारी गराएका थिए ।
यसअघि मन्त्री दाहालले ध्वस्त भएका सरकारी कार्यालय, सार्वजनिक र निजी भवनमा पुगेकाे क्षतिकाे अवलाेकन गरेका थिए ।




Discussion about this post