झापा, ४ मंसिर । राष्ट्रिय सुरक्षा परिषद्ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
विहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौं बार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफलपछि संशोधनका साथ स्वीकृत गरेको छ ।
उक्त प्रतिवेदनलाई राष्ट्रपति समक्ष पेश गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवम् राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले बताए ।
बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव र अपनाउनु पर्ने भावी रणनीतिका सम्बन्धमा समेत छलफल भएको उनकाे भनाई छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति रहेकाे थियो ।




Discussion about this post