मेचीनगर, १७ मंसिर । मेचीनगर नगरपालिकाले अपाङ्ग दिवसकाे अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सियाे दाैड, चम्चा दाैड, हाजिरी जवाफ प्रतियोगिता र सिर्जनात्मक कला प्रस्तुतिकरण कार्यक्रम गरेकाे छ ।
चारै विद्याकाे निर्णायकहरूमा नगरपालिका शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारी, आदर्श मावि ईटाभट्टाका प्रधानाध्यापक कृष्ण पुरी, पूर्व प्रधानाध्यापक हेम खड्का रहेका थिए ।
बुधबार नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा नगरका करिव एकसय अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी गराएर उक्त कार्यक्रम गराएकाे हाे ।
सियाे दाैड, चम्चा दाैड, हाजिरी जवाफ प्रतियोगिता र सिर्जनात्मक कला प्रस्तुतिमा प्रथम, दाेस्राे र तेस्राे हुने विजेतालाई क्रमश: ४ हजार, ३ हजार २ हजार पुरस्कार प्रदान गरिएको थियाे ।
´अपाङ्गता समावेशी समाजकाे प्रवर्धन : समाजिक उन्नतिकाे संवर्द्धन` नारासहित कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरूले सपाङ्ग जति कै काम गरिरहेकाे बताएका छन् । नगरले विशेष प्राथमिकतासाथ हेरिरहेकाे उनकाे भनाई छ ।
उनका अनुसार विगतमा भएका कमजोरीलाई सच्याएर नगरपालिका अघि बढिरहेकाेले सबैले साथ र आवश्यक सुझावकाे अपेक्षा छ । उनले घरघर गएर परिचय पत्र वितरण गरेको बताए ।
अपाङ्गतासँगै अटिजम भएका बालबालिकाकाे समस्या झन पीडादायी रहेकाे छ ।
निकट भविष्यमा नगरमा अटिजम केन्द्रकाे भवन बनाउने काेशिष भइरहेकाे बुढाथोकीकाे भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, पूर्व क्षितिज अपाङ्ग सेवा संघ अध्यक्ष धर्मराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नगरमा १६२३ जना अपाङ्गता भएका व्यक्ति र ९२ जना अटिजम भएका बालबालिकाहरू छन् ।
कार्यक्रममा नगरकाे प्रत्येक वडाबाट ५ जना, ओपेडी अध्यक्ष, प्रतिनिधि, अपाङ्गता शसक्तिकरण बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष ताेकप्रसाद दुलाल लगायत पदाधिकारीसहित करिव एकसय जनाकाे सहभागिता रहेकाे थियाे ।
अपाङ्गता समन्वय समिति सदस्य एवम् कार्यपालिका सदस्य अञ्जु थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत करूणा फाउण्डेशनका मेचीनगर संयाेजक पदम बराइलीले र सहजीकरण नगरपालिकाकाे महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।
मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालनमा रहेकाे छ ।




Discussion about this post