झापा, २० मंसिर । न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा सम्मानित भएका छन् ।
अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको अवसरमा राईलाई सम्मान गरिएको हो ।
बिर्तामोड, अर्जुनधाराका विभिन्न व्यक्ति र व्यावसायिक प्रतिष्ठानहरुले शनिबार उनलाई एक लाख रुपैयाँ भन्दा बढी राशिसहित सम्मान गरेका छन् ।
राईलाई वीरबहादुर राई, नारायण राई, सन्तोष राई र कलाकार विल्सनविक्रम राईले एकमुष्ट ५१ हजार रुपैयाँ प्रदान गरेका थिए । त्यस्तै, आदर्श स्कुल अफ मेनेजमेन्टले १७ हजार ५ सय, झापा गोल्डकपका अध्यक्ष केदार गिरीले १५ हजार रुपैयाँ प्रदान गरे ।
यसैगरी अर्जुनधारा नगर खेलकुद विकास समितिले ११ हजार रुपैयाँ, बिर्तामोड भलिबल प्रशिक्षण केन्द्रले ७ हजार ५ सय र सेवारो क्याफेले ५ हजार रुपैयाँ प्रदान गरेका थिए । राईले कुल एक लाख ७ हजार रुपैयाँ पाएका थिए । उनलाई ढाका टोपी तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रशिक्षक राईले विगत १९ वर्षदेखि चन्द्रागिरी नैकापमा रहेको न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिइरहेका छन् । डायमन्ड विभागीय टोलीलाई चुनौती दिने एक्लो सिभिल टोली हो । उनकै प्रशिक्षणमा डायमन्डले दुई दर्जनभन्दा बढी उपाधि जितेको छ ।




Discussion about this post