
चारआली, १९ मंसिर । लाल–भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले आयोजना गरेको अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविकी विद्यार्थी जयन्ती बुढाथोकी प्रथम भएकी छन् ।
प्रतिष्ठानको भोलि हुने बार्षिक साधारण सभाको पूर्व सन्ध्यामा आयोजित ‘ज्येष्ठ नागरिकको अभिभावकत्व, युवा समुदायको संरक्षण गर्ने दायित्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा बुढाथोकी प्रथम भएकी हुन् ।
यस्तै दोस्रो मेचीनगर–१२ स्थित सरस्वती बालकल्याण माविका विद्यार्थी डिमेश्वरी भट्टराई, मेचीनगर–१४ स्थित बाल सुवोधिनी माविकी अनुजा रायमाझी तेस्रो र मेचीनगर–९ स्थित कवि शिरोमणि माविका साजन मगर सान्तवना भएका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा मेची क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख कमल गुरागाइँ, त्रिदेव क्याम्पस चारआलीका निवर्तमान क्याम्पस प्रमुख माधव प्याकुरेल र झापा तालिम केन्द्रका प्रशिक्षक भाष्कर घिमिरे रहेका थिए ।
विजेताहरुलाई शनिबार कार्यक्रममा सम्मानसहित पुरस्कार वितरण हुने प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले जानकारी दिए ।
सहिद दशरथ चन्द मावि चारआलीको सभा हलमा भएको कार्यक्रमको प्रमुख अतिथि मेची बहुमुखी क्याम्पस भद्रपुरका क्याम्पस प्रमुख देवीप्रसाद आचार्य रहेका थिए ।
कार्यक्रममा सहिद दशरथ चन्द माविका प्रधानाध्यापक लेखनाथ पौडेल लगायत अभिभावक, विद्यार्थी, शिक्षक लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको रहेको थियो ।
भोलि बार्षिकोत्सवमा उत्कृष्ट प्रतिभा पुरस्कार अग्रज पत्रकार नकुल काजी, लालबहादुर उत्कृष्ट कृषि पुरस्कार इन्द्र पाठक अध्यक्ष रहेको उज्यालो भविष्य जैविक कृषक समूह र भागिरथा उत्कृष्ट गृहिणी पुरस्कार मालती राजबंशीलाई सम्मानसहित पुरस्कृत गरिने छ ।




Discussion about this post