

झापा, ११ पुस । स्वर्गीय जननेता मदन भण्डारीले ३५ वर्ष अगाडि पत्रकार केशव आचार्यलाई लक्षित गरेर एउटा आमसभामा कांग्रेसकाे हड्डी चुसेका पत्रकारले पित पत्रकारिता गरिहेकाे कुरा बाहिर आएको छ ।
प्रेस चाैतारी नेपाल झापाले आयोजना गरेकाे ´अग्रजलाई सुनाैं` कार्यक्रममा शुक्रबार पत्रकार आचार्यले साे कुरा सार्वजनिक गरेका हुन् ।
आचार्यका अनुसार २०४७ सालतिर बहुदल आएपछि झापाकाे बिर्तामोड स्थित कृषिथाेक नजिकै एउटा आमसभालाई नेता भण्डारीले सम्बाेधन गर्ने क्रममा देशमा गरिबी नहटेसम्म एमाले गरिवकाे पक्षमा लडिरहने बताएका थिए ।
तर, त्यहि विषयलाई काठमाडौंकाे देशान्तर साप्ताहिक पत्रिकामा पत्रकार आचार्यले भण्डारीले गरिव जनता रहिरहेसम्म एमाले पार्टी रहिरहने बताएको छापेका थिए ।
साेही विषयलाई लिएर नेता भण्डारीले ३ महिनापछि चुनावी सभालाई सम्बाेधन गर्न झापा आएका बेला सभामा नै कांग्रेस पार्टीको हड्डी चुस्ने पत्रकारले झापामा पित पत्रकारिता गरिरहेकाे बताएको आचार्यले सुनाए ।
पत्रकार आचार्यकाे नाम नलिकन घुमाएर मलाई नै इङ्गित गरेकाे उनकाे दावी छ ।
नेता भण्डारीले भनेकाे कुरा मैले गल्ती भएको महसुस गरे, पित पत्रकारिता नै भयाे भन्ने आचार्यले सुनाए ।
त्यतिखेरका जल्दाबल्दा पत्रकार आचार्य २०३४ सालदेखि विभिन्न स्थानीय पत्रपत्रिकामा समाचार र कविताहरू लेख्ने गर्थे ।
२०३६ सालकाे जनमतमा बहुदल पक्षले हारेपछि २०३८ सालमा बिर्तामोडमा कांग्रेसका नेता भरतबाबु प्रसाईकाे सुशील कुटिमा युगपुरूष विशेश्वरप्रसाद काेइरालासँग म, स्व.मदन ढकाल, स्व. गाेपिकृष्ण खनालले अन्तरबार्ता समेत लिएकाे बताए ।
कविता लेख्ने पत्रकारितामा लागेकाे देखेर मेराे बुबाले छाेराे काम नलाग्ने भयाे भन्नू हुन्थ्याे ।
आचार्यले त्यसबेला बुबालाई सम्झाउन खाेजे नेपाल पत्रकार महासंघ झापा अध्यक्ष भए, पत्रिकाकाे सम्पादक भए, विभिन्न संघ-संस्थाबाट सम्मान पाए, साहित्यकार समेत भइसकेकाे छु भने तर, बुबाले नापिस्, कविता लेखेर, पत्रकारिता गरेर के हुन्छ ? भन्ने गर्नु हुन्थ्याे ।
शिक्षक समेत भइसकेका आचार्य अहिलेसम्म साहित्य र पत्रकारितामा जाेडिनु भएको छ ।
इमानदार र लगनशिल रूपमा परिचित आचार्यले विगतका तितामिठा मनका कुरा सुनाउने अवसर पाएकाेमा चाैतारीलाई धन्यवाद दिए ।
प्रेस चाैतारी झापाका अध्यक्ष प्रदीप परियारकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा चाैतारीका काेशी प्रदेश इन्चार्ज गणेश पाेखरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्याैपाने, नारी सञ्चार गृह झापाकी उपाध्यक्ष जाेश्ना श्रेष्ठ लगायतले अग्रज पत्रकार आचार्यकाे याेगदानकाे बारेमा चर्चा गरेका थिए ।
चाैतारीका काेश प्रदेशका सहइन्चार्ज गाेपाल काफ्लेले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन झापा सचिव युवराज आचार्यले गरेका थिए ।




Discussion about this post