
झापा, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको चुनावले कुनै निकास नदिने भन्दै केही समय निर्वाचन सार्नुपर्ने बताएका छन् ।
आज रुपन्देही-१ स्थित देवदहमा आयोजित चुनावी सभामा उनले राप्रपा चुनावबाट नभाग्ने तर यो निर्वाचनले कुनै निकास नदिने दावी गरे ।
चुनावअघि नै राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरेर निर्वाचन सार्नु पर्नेमा उनकाे जोड छ ।
‘हामीले हिजो पनि भनेका हौँ, आजपनि यो भनिरहेका छौँ, ०८४ को चुनाव ०८२ मा सारेर समाधान हुँदैन, चुनावअघि राजा, राजनीतिक दल र नवयुवासँग समझदारी गरौँ नमिलेका विषय मिलाऔँ, निषेधको राजनीति लामो समय गर्यौ’ उनले भने–‘अब कसैले कसैलाई निषेध गर्ने र कसैले हार्ने गरी होइन, सबैले जित्ने र देशले पनि जित्नेगरी चुनावमा जाऔँ,यसपछि भविष्यमा कसैले विद्रोह गर्नु पर्दैन भनेका छौँ । तर जबरजस्त देश चुनावमा गएको छ, प्रजातान्त्रिक पार्टी भएकाले चुनावमा गएका छौँ ।’
उनले अहिले पनि राष्ट्रिय सहमतिमा सबै दललाई आउन आग्रह गरेको बताउँदै भने-‘चुनाव केही महिनापछि सार्नका लागि प्रस्ताव गरेका छौँ ।’
उनले अहिले मतदाताले विवेक प्रयोग गरेर देश बनाउने र बचाउने व्यक्तिलाई मतदान गर्न आग्रह गरे । उनले नयाँ शक्तिका रूपमा चर्चामा आएका शक्तिले देशलाई निकास नदिने ठाेकुवा गरे ।
उनले भने-‘देश अहिले संकटमा छ, देश रहन्छ कि रहँदैन । देश बचाउने हो भने सामाजिक सञ्जालबाट प्रभावित भएर भोट दिने होइन विवेक प्रयोग गरेर देश बनाउनेलाई दिनुहोस् ।`
यो पटक पुल र बाटो बनाउने चुनाव नभएको उनले स्पष्ट पारेको थिए । मुलुक गम्भीर संकटमा रहेको भन्दै उनले देश बनाउन राप्रपालाई मत दिन अपिल गरे ।
उनले भने-‘भ्रष्टाचाररहित देश बनाउन सके बाहिर रहेका धेरै युवालाई ल्याउन सकिन्छ, वर्षौँदेखि दलहरूले भोट बैंक बनाएको सुकुम्वासी समस्या समाधान गर्न सकिन्छ, कुनै विदेशी शक्तिको सहयोग लिनु पर्दैन ।’
केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहले देशकाे मुख्य समस्या समाधान नगरी चुनावमा जान नहुने तर्क पेश गरेका थिए ।




Discussion about this post