
झापा, १७ फागुन । इरानले यूएईमा हवाई आक्रमण गर्दा एक नेपालीसहित तीन जनाकाे मृत्यु भएको छ ।
संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आज जारी गरेको प्रतिवेदन अनुसार आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एकसहित तीन जना विदेशी नागरिककाे मृत्यु भएको हाे ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले एक नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । यद्यपि मृत्यु हुनेहरूको परिचय खुलेको छैन ।
उनले भने -‘एक जना नेपाली नागरिकको मृत्यु भएको जानकारी सरकारी जानकारी पाएका छौं ।`
रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, २ वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ ।
यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए ।
तीमध्ये २१ वटा ड्रोनहरूले नागरिकका बस्ती र भौतिक संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो ।
यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् ।
मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको बताएको छ ।




Discussion about this post