मेचीनगर, ८ चैत । झापामा बर्डफ्लूकाे संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले अनुसन्धान सुरू गरेकाे छ ।
दमक नगरपालिका-१० स्थित दमक एग्रिकल्चर कृषि फार्म र झापा गाउँपालिका-७ स्थित सुदिक्षा कृषि फार्मका कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएकाे हाे ।
भेटेनरी अस्पताल झापाकी प्रमुख शितल भट्टराईले दमककाे फार्मकाे ल्याव टेष्ट गर्दा हाइली प्याथाेजेनिक
(एच फाइव एन वान) र झापाकाे सुदिक्षा फार्मकाे
लाे प्याथाेजेनिक ( एचनाइन) काे बर्डफ्लू पुष्टि भएको जानकारी दिइन् ।
ल्याव टेष्टकाे रिपोर्ट आएपछि काेशी प्रदेशकाे पशुपंक्षी तथा भेटेनरी विभागका टिमले आज उक्त क्षेत्रमा अनुसन्धान गरेकाे उनले बताइन् ।
उनका अनुसार संक्रमण भएको स्थानमा चारकिल्ला ताेकेकाे छ । भाेलि साेमबार संघीय सरकारकाे पशु विभागकाे निर्देशनपछि झापाका प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा वैठक बसिसकेपछि ती फार्मका कुखुराहरू मारेर नष्ट गरिने छ ।
सुदिक्षा फार्मका ५५ सय कुखुरा मध्ये ४५ सय कुखुरा मरेका छन् ।
यता दमक फार्मका करिव २० हजार कुखुरा मध्ये १२ हजार कुखुरा मरेकाे व्यवसायीकाे दावी छ । दुवै फार्ममा लियर्स र लाेकल कुखुराहरू रहेका थिए ।
रेपिड रेस्पाेन्स टिमले पीपीई, नाइन्टी फाइव माक्स लगाएर कुखुराहरू मारेपछि संक्रमण भएका फार्मलाई ४५ दिनसम्म शिल गरिने भट्टराईले बताइन् ।
फार्मका सञ्चालकलाई क्षतिपूर्ति, जैविक सुरक्षा, डीसइन्फेक्सन, चुना, भेरगन औषधि, बीमा लगायतका कुरामा सचेत गराइने उनकाे भनाई छ ।
केहिदिनअघि मात्र माेरङ र सुनसरीमा उक्त राेग देखा परेकाे थियाे । खुल्ला सीमा नाकाका कारण भारतबाट राेग भित्रिएकाे हुन सक्ने भएकाले नाकामा सर्तकता अपनाइने र सुरक्षा व्यवस्था कडाई गरिने भएको छ ।




Discussion about this post