

बिर्तामोड, २१ चैत । हात्तीमारा फुटबल क्लब प्रथम सन्थाल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आजको उद्घाटन खेलमा हात्तीमाराले विहानी सन्थाल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
हात्तीमाराका शंकर किस्कुले खेलको आठौं मिनेटमै निर्णायक गोल गरेका थिए । उत्कृष्ट प्रदर्शनका लागि किस्कु म्यान अफ द म्याच समेत घोषित भए ।
उनलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियाे । सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड-६ ले आयोजना गरेको सन्थाल गोल्डकपको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गरेका थिए ।
उनले सन्थाल समुदायमा खेलाडी उत्पादन र संरक्षणमा प्रतियोगिताले महत्वपूर्ण सहयोग गर्ने बताए । मन्त्री महतोले सन्थाल समुदायले आफैं गोल्डकप आयोजना गर्नु महत्वपूर्ण उपलब्धी भएको बताएका छन् ।
कोशी प्रदेश सरकार सन्थाल समुदायको उत्थानमा सधैं प्रतिवद्ध रहेको उनको भनाई थियो ।
बिर्तामोड नगरपालिका संरक्षक रहेको गोल्डकपको भद्रपुर झापा गोल्डकप र बिर्तामोड नगरपालिका वडा नं.६ सहप्रायोजक रहेका छन् ।
चैत २८ गतेसम्म हुने गोल्डकपको विजेताले नगद १ लाख र उपविजेताले ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खेल तालिका अनुसार आइतवार मदरगाँछ फुटबल क्लब र बान्चाभिट्टा सिर्जन क्लब पश्चिम बंगालबीच खेल हुने कार्यक्रम संयोजक टीका हस्ताले जानकारी दिए ।




Discussion about this post