

काँकरभिट्टा, २८ वैशाख । मेचीनगर नगरपालिकाले आजदेखि व्यवसाय दर्ता अभियान सुरू गरेको छ ।
सोमबार काँकरभिट्टा स्थित सब्जी बजारमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सो अभियानको सुरूवात गरेका हुन् ।
उनले स्थानीय सरकारमा व्यवसाय दर्ता गरेर आफ्नो व्यवसाय सुरक्षित रूपमा सञ्चालन गर्न अनुरोध गरेका छन् । ‘व्यवसाय दर्ता गरेर राज्यलाई कर तिर्नु पर्छ’, बुढाथोकीले भने–‘दर्ता नगरी व्यवसाय गर्न पाइदैन । कानुनले त्यसो नगर्न दिँदैन ।’
मेचीनगर नगरपालिकाले आजदेखि नगरका मुख्य बजारहरूमा व्यवसाय दर्ता नगरेका व्यवसायीहरूलाई व्यवसाय दर्ता सुविधाका लागि व्यवसाय दर्ता अभियान सुरू गरेको हो ।
आज अभियान काँकरभिट्टाको वडा कार्यालय छेउ सब्जी बजारबाट सुरू गरिएको छ । सबैतिर सँगसँगै अभियान सञ्चालन हुनेछ । करिव १५ दिन सेवाग्राहीको सहजताका लागि काँकरभिट्टाको ज्येष्ठ नागरिकको भवन, होटल व्यवसायीको भवन र पूर्व मेची बस व्यवसायी प्रालिको हलमा सेवा प्रवाह गरिने बताइएको छ ।
अभियानको सूरुवात राजश्व परामर्श समिति संयोजक समेत रहेकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको थियो । उप्रेतीले राजश्व बढाउने भन्दा पनि व्यवसाय दर्ता नगरेका सबै व्यवसायीहरुलाई करको दायरामा ल्याउने उदेश्य रहेको बताइन् ।
कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरु सीमा रसाइली, भविन्द्र सुब्बा, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), स्थानीय ज्येष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो ।
अभियानको सहजीकरण नगरपालिकाका राजश्व शाखा प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए । उनले नगरमा १८ हजार करदाता रहेको जानकारी दिए । अझै ४८ प्रतिशत व्यवसायीले व्यवसाय दर्ता नगरेको उनको भनाई छ ।
आज २० जना नयाँ व्यवसायीले व्यवसाय दर्ता र पुराना ६ जना व्यवसायीले नविकरण गरेको पराजुलीले बताए । आर्थिक वर्ष २०८२÷०८३ को असार मसान्तसम्म यो अभियान मेचीनगरका मुख्य–मुख्य बजारमा सञ्चालन हुने छ ।




Discussion about this post